गोविन्द बस्नेत
धरान १४ स्थित विजयपुरमा रहेको पुरानो बालगोपाल मन्दिरको विषयमा विवाद चुलिएको छ ।
वि.सं. १९९२ सालमा स्थापना भएको यो मन्दिरको विषयमा ओम शिवशक्ति कल्णाण केन्द्रले वृद्धाश्रमसंगै आफ्नो मन्दिर बनाएपछि मन्दिर संरक्षणमा लागेका प्रवुद्ध व्यक्तिहरु मन्दिरको अस्तित्व समाप्त हुने भन्दै आएका छन् भने शिवशक्ति कल्याण केन्द्रले भने जीर्ण रहेको स्थानलाई पुन निर्माण गरेर जीवित बनाउन खोजेको बताउदै आएका छन् ।
८० बर्ष पुरानो बालगोपाल मन्दिर व्यवस्थापन समितिले रेखदेख गर्दै आएपनि पछिल्लो समयमा यो समिति निष्कृय प्राय : भएपछि यसको फाइदा उठाउदै ओम शिवशक्ति कल्याण केन्द्रले प्रभुत्व जमाउन खोजेको बालगोपाल संरक्षण समितिले आरोप लगाउदै आएपनि अन्तत : पुरानो मन्दिरको स्वरुप विवाद हुदाहुदै पनि भत्काइएको छ ।
करिब ६ कट्ठा ऐलानी जमिन रहेको बालगोपाल मन्दिरको २०६८ सालमा ओम शिवशक्ति कल्याण केन्द्रले धरान उपमहानगरपालिकाबाट सिफारिस ल्याएपछि त्यस स्थानमा वृद्धाश्रम निर्माण गरिसकेको छ भने केन्द्रको मन्दिर समेत छेउमा स्थापना गरिसकेको छ ।
एक दशक लामो समयदेखि आफ्नो अस्तित्व राख्दै आएको यो मन्दिरलाई २०४५ सालको भुकम्पले जीर्ण बनाएपछि त्यसै स्थानमा सानो टहरा बनाई मन्दिरलाई संरक्षण गर्न पूजारी प्रकाश खनाल नियुक्ति गरिएको थियो । हालसम्म यस मन्दिरको पूजारीको रुपमा खनाल नै रहेपनि उहाको व्यवस्थित बासस्थानको विषयमा केन्द्रले केही सोचेको छैन ।
बाल गोपाल संरक्षण समितिका सचिव धर्मराज तिम्सिनाले मन्दिर जसले बनाएपनि आपत्ति नहुने बताउदै यसको सञ्चालन भने समितिले नै गर्नुपर्नेमा जोड दिनुभयो । उहाले निर्माण गरे पनि इतिहास बोकेको यस मन्दिरको अस्तित्व समाप्त पार्ने काम कसैबाट गर्न नहुने बताउनुभयो ।
यता पूजारीका परिवारले समेत आफूहरुलाई कुनै व्यवस्था नगरी मन्दिर भत्काउन शुरु गरेको आरोप लगाएका छन् । पूजारी प्रकाश खनालकी श्रीमति प्रतिमा खनालले ओम शिवशक्ति कल्याण केन्द्रले यस स्थानमा मन्दिर र वृद्धाश्रम बनाएपछि आफूलाई धेरै दु:ख दिएको बताउनुभयो । उहाले आफूहरुको बासस्थानको ग्यारेन्टी नगरी बर्षौदेखि आफूहरुले यस मन्दिरको संरक्षण गर्दै आएकोले अब पनि पूजारीमा नियुक्ति गनुपर्ने बताउनुभयो ।
यता उपमहानगरपालिकाको हरेक गतिविधिलाई नजिकबाट नियाल्दै आएको र उपमहानगरपालिकाका राम्रा कामलाई स्वागत र नराम्रा कामलाई विरोध गर्दै आएको जनसरोकार मञ्चले समेत यस मन्दिरको अस्तित्वको विषयमा चासो राखेको छ । ओम शिवशक्ति कल्याण केन्द्र बन्नु धरानेहरुका लागि गौरवको कुरा भएको भएपनि धरान उपमहानगरपालिकाले स्थानीय स्वायत्त ऐन विरुद्ध केन्द्रलाई सम्पूर्ण काम जिम्मेवारी दिएर बालगोपालको अस्तित्व समाप्त पार्न खोजेको आरोप मञ्चका संयोजक कृष्णनारायण पलिखेले लगाउनुभयो ।
१४ बर्ष अगाडिदेखि ओम शिवशक्ति केन्द्रको संयोजकको भूमिका निर्वाह गर्दै आउनुभएका राम कार्कीले भने विगतमा यो मन्दिरको हालत हेर्दा
उराठलाग्दो रहेको बताउनुभयो । उहाले यस मन्दिरलाई पुननिर्माण गरी जीवन्त दिने आफूहरुको मुख्य उद्देश्य भएकोले निर्माणमा अवरोध नगर्न सबैमा आग्रह गर्नुभयो ।
मन्दिरको जग्गामा केन्द्रलाई जिम्मा दिने धरान उपमहानगरपालिका भने मौन बसेको छ । मन्दिर व्यवस्थापन समिति र केन्द्रका व्यक्तिहरु एक आपसमा पटक पटक छलफल भएपनि समस्या समाधान हुनुको साटो झन झन बढ्दै गएको छ ।
जीर्ण रहेको मन्दिरलाई व्यवस्थापन गर्नु अत्यन्तै राम्रो पक्ष हो । तर निर्माण पश्चात इतिहास बोकेको मन्दिरको अस्तित्व समाप्त पार्न नहुने सर्वसाधारणको समेत माग रहेकोले यस विषयमा सवै पक्षले गम्भीर भएर नसोचे धरानको गौरव मानिएको बालगोपाल मन्दिरको अस्तित्व समाप्त भएर जानेमा दुविधा छैन ।
