गोविन्द बस्नेत
धरान, ३० असोज : अनेक प्रयास र दलहरुका मतभेदका बीच नेपालमा बनेको ऐतिहासिक संविधानलाई संस्थागत गरेर लान चुनौति थपिएको नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताउनुभएको छ ।
पूर्व मन्त्री समेत रहनुभएका सिटौलाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको दशै, तिहार, छठ, इद शुभकामना तथा चियापान समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनुएको हो ।
संवैधानिक समितिको संयोजक समेत रहेर काम गरिसक्नुभएका सिटौलाले अहिले २००७ सालदेखिको नेपाली जनताको चाहना संघीय गणतान्त्रिक नेपालको संविधान निर्माणसंगै सबै जनता हर्षित भएको बताउनुहुदै अहिले बनेको संविधान अकाट्य नभई समयसंगै संसोधन हुदै जाने भएकोले कसैले दु:खी पर्ने अवस्था नभएको बताउनुभएको छ । उहाले फरक विचार, फरक मत रहेका दलहरुबीच छलफल गरी बनाइएको संविधान नेपालमा मात्र नभई विश्वमै उत्कृष्ट रहेको बताउनु हुदै संविधान निर्माणसंगै नेपालीहरुको महान चाड समेत भव्यतासाथ मनाउनुपर्ने बेला आएको बताउनुभयो ।
उहाले ९० प्रतिशत भन्दा बढीको समर्थनमा आएको संविधान विश्वकै अत्यन्तै उत्कृष्ट भएको भन्दै जाती, धर्म, लिंग, पिछडिएका वर्ग, दलित, सीमान्तकृत सबैलाई यो संविधानले समेटेको दाबी समेत गर्नुभयो । उहाले पदका विषयमा आएका बाहिर हल्ला हल्लामात्रै भएकोले राष्ट्रपति, उपराष्ट्रपति लगायतका अन्य मन्त्रालयका विषयमा समेत करिब करिब सहमत भइसकेको बताउनुभयो ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति चन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा भएको शुभकामना कार्यक्रममा कांग्रेस सुनसरी क्षेत्र नं. १का सभापति राजीव कोइराला, सुनसरी क्षेत्र नं. १ का उपसभापति सुरेशमान श्रेष्ठ लगायत कांग्रेसका भातृ संगसंगठनका प्रतिनिधिहरुले समेत बोल्नुभएको थियो । धरान २ गीता मन्दिरमा भएको कार्यक्रमको सञ्चालन कांग्रेस सुनसरी क्षेत्र नं. १ का सचिव सुजेन्द्र तामाङ्गले गर्नुभएको थियो ।
