नेपालीको घर घरमा दशै भित्रिए पनि चहलपहल छैन

गोविन्द बस्नेत
धरान, २९ असोज : यसपटकको दशैमा विगतको दशैको तुलनामा चहलपहल धेरै कम भएको छ ।
विगतका दशैहरुमा दशै आउन एक महिना अगाडिदेखि नै दशैको चहलपहल ह्वात्तै बढ्ने भएपनि यसपटक भने मधेशवादी दलको आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण दशैको चहलपहल विगतको बर्षको तुलनामा ७० प्रतिशतभन्दा बढीले घटेको व्यवसायीहरुले बताएका छन् ।
विगतका बर्षहरुमा व्यवसायीहरुलाई किनमेल गर्ने आउनेहरुको भीडका कारण भ्याई नभ्याई भएपनि यसपटकको दशैंमा भने नौराथा शुरु भएपछि मात्र केहीमात्रामा चहलपहल शुरु भएको व्यवसायीहरुको भनाई छ । उनीहरुले नेपालीहरुको महान चाड दशै तथा तिहारको समय आएपछि विभिन्न बहानामा यस्ता किसिमका हर्कतहरु हुने गरेको र व्यवसायीहरुको कमाई हुने समयमा यस्ता कुराले धेरै प्रभावित बनाउने गरेको गुनासो समेत गरेका छन् । नेपाल आफै आत्मनिर्भर भएर आर्थिक फड्को मार्न सरकारले प्रोत्साहन नगरेसम्म जुनसुकै सरकार आएपनि केही नहुने बताएका छन् ।
विगतको दशैभन्दा संविधान निर्माणसंगै यस बर्षको दशै चहलपहलमा दोब्बर होला भन्ने सोचेका व्यवसायीहरुले विगतको भन्दा २५ प्रतिशत जति पनि चहलहल नहुदा व्यापार व्यवसाय चौपट भएको उनीहरुको भनाई छ । भातरले नाकाबन्दी गरेपनि खाद्यान्न सामाग्री स्टोक गरेर बसेका व्यवसायीहरुले खाद्यान्नको अभाव छैन भन्दा भन्दै पनि ग्राहकहरु नआएको थोक विक्रेता संघका सदस्य सीताराम आचार्यले जानकारी दिनुभयो । उहाले अहिले पनि आफूहरुसंग एक महिनालाई पुग्ने सामाग्री भएको भएपनि ग्राहकहरु खरिद नै गर्न नआएकोमा अचम्मित भएको बताउनुभयो । विगतमा दशैको मुखमा खाद्यान्न अभाग हुने हो कि भनेर बढी सामाग्री सञ्चय गरेर बस्ने ग्राहकहरु दशै भित्रिएसंगै कम हुन थालेको उहाको भनाई ।
विगतमा दशै तथा तिहार जस्ता नेपालीहरुको महान पर्वमा ४० देखि ५० करोडको व्यापार व्यवसाय हुने गरेको सुनसरी उद्योग वाणिज्य संघले जानकारी दिएको छ । भारतले लगाएका नाकाबन्दीसंगै मधेशी मोर्चाले गरेको बन्दले पूर्वको व्यवसाय शून्यजस्तै भएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिनुभयो । सरकारले लामो समय भारतले गरेको नाकाबन्दीको असरलाई हटाउन चाइनाको नाकाहरु ध्माधम खुलाइदिएको भए विगतको भन्दा यस बर्षको दशैमा दोब्बर चहलपहल हुने समेत जानकारी दिनुभयो । उहाले विगतका भएका घट्ना र अहिले नेपालीहरुले भोगेको समस्यालाई मध्यनजर गरी नेपाल आत्मनिर्भर नहुन्जेल चाइनाको नाका खोल्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
व्यवसायीहरुले भारतले विगतदेखि नै गर्दै आएको हेपाहा प्रवृत्तिले नेपाललाई धेरै पाठ सिकाएकोले अब यस्तो घट्ना दोहोरिन नदिन नेपाल सरकारले गम्भीर भएर सोच्ने बेला आएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया