झापाका दुई चर्चित सहित दश जना साहित्यकार पुरस्कृत हुँदै

धरान । झापाका दुई चर्चित साहित्यकार कृष्ण धराबासी (भट्टराई) र चुडामणि रेग्मीसहित नेपाल प्रज्ञा प्रतिष्ठानले अन्य ८ जना साहित्यकारलाई वर्ष २०८१ को साहित्य तथा संस्कृति पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव डा. ध्रुवप्रसाद सुवेदीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पुरस्कृत एवं सम्मानितहरूको नाम सार्वजनिक गर्नुभएको हो । जारी विज्ञप्तिअनुसार भारतीय साहित्यकारको नाम समेत पुरस्कृत हुनेमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा पुरस्कृत हुने भारतीय साहित्यकारमा भविलाल लामिछाने रहनुभएको छ । लामिछानेलाई प्रज्ञा अन्तरदेशीय पुरस्कार २०८१ बाट पुरस्कृत गरिने भएको हो । यसैगरी अन्य साहित्यकारहरूमा प्रज्ञा समालोचना पुरस्कारबाट सुधा त्रिपाठी, प्रज्ञा दर्शन पुरस्कारबाट गोपीरमण उपाध्याय, अनुवाद पुरस्कारबाट बलराम अधिकारी, प्रज्ञा सामाजिक शास्त्र पुरस्कारबाट दिल सोहनी, प्रज्ञा संस्कृति पुरस्कारबाट डिक वान्तवा, प्रज्ञा बालसाहित्य पुरस्कारबाट शारदा रमण नेपाल र प्रज्ञा साहित्य पुरस्कार पद्यतर्फ जसराज किराँतीलाई प्रदान गरिने भएको छ । यसअघि अर्थात् २०८२ सालमा वर्ष २०८१ को मातृभाषा साहित्य पुरस्कार पुष्कर पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई, तराई–मधेश क्षेत्रतर्फ कमल सिंह रानालाई प्रदान गरिसकिएको समेत सचिव सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी सम्पूर्ण पुरस्कारको राशी १ लाख रहेको छ । पूर्वेली चर्चित साहित्यकार कृष्ण धराबासी झापाको अर्जुनधारा निवासी हुनुहुन्छ। कृषि विकास बैंकमा जागिरकै दौरान धराबासीले साहित्य, संस्कृति र पत्रकारितालाई एकसाथ अगाडि बढाउनुभएको थियो । सेवा निवृत्त पश्चात् उहाँले दर्जनौं साहित्यिक कृतिहरू प्रकाशन गरिसक्नुभएको छ । उता चुडामणि रेग्मी झापाकै भद्रपुर निवासी हुनुहुन्छ । रेग्मीले समेत आधा दर्जन पुस्तकहरू प्रकाशित गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया