धरान । खेलकुदको सहरका रूपमा परिचित धरानमा विद्यालयस्तरीय धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिभल–२०८३ शनिबारदेखि सुरु भएको छ । प्रतियोगितामा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरूले १० वटा खेल विधामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, सितोरियो कराते, तेक्वान्दो, उसु, टेबल टेनिस, ब्याडमिन्टन तथा सेपाकताक्रो समावेश गरिएको छ । विभिन्न खेलमध्ये टेबल टेनिसप्रति बालबालिकाको आकर्षण उल्लेखनीय देखिएको छ । प्रतियोगितास्थलमा खेलाडीहरूको उत्साहपूर्ण सहभागितासँगै अभिभावकहरूको सक्रिय उपस्थितिले पनि खेलप्रतिको बढ्दो चासो बढेको हो । अभिभावकहरुले आफ्ना छोराछोरीलाई खेलकुदमा सहभागी गराउँदा उनीहरूको आत्मविश्वास, अनुशासन र सामाजिक व्यवहारमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाउँदै विद्यालयस्तरमै यस्ता प्रतियोगिताले प्रतिभा पहिचान गर्न ठूलो भूमिका खेल्ने बताएका छन् ।

उनीहरुले अभिभावकले पढाइसँगै खेलकुद पनि बालबालिकाको समग्र विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै टेबल टेनिसजस्ता खेलमा विद्यालय र स्थानीय सरकारले थप पूर्वाधार तथा नियमित प्रशिक्षणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । प्रतियोगितामा सहभागी बालबालिकाहरूले टेबल टेनिसलाई शारीरिक तथा मानसिक विकासका लागि उपयोगी खेलका रूपमा लिँदै नियमित अभ्यासबाट भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने लक्ष्य व्यक्त गरेका छन् । प्रतियोगिताले उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र नभई आत्मविश्वास र अनुशासन विकास गर्ने वातावरण पनि प्रदान गरेको उनीहरूको भनाइ छ । सहभागी विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउँदा निकै उत्साहित भएको बताउँदै टेबल टेनिसप्रति आफ्नो रुचि दिनप्रतिदिन बढ्दै गएको र आगामी दिनमा अझ मेहनत गरेर उत्कृष्ट खेलाडी बन्ने लक्ष्य रहेको बताएका छन् । नेपाल शिक्षक संघ सुनसरीका सचिव रोवनराज कार्कीले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीमा लुकेका प्रतिभा उजागर गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले पढाइसँगै खेलकुदलाई समान प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक तन्दुरुस्ती, मानसिक विकास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो । उहाँले स्थानीय तहले विद्यालयस्तरको खेलकुदलाई निरन्तरता दिँदै अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोडदिँदै खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक तन्दुरुत बनाउने बताउनुभयो ।
धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिभल(२०८३ ले विद्यालयस्तरमै खेल संस्कृतिको विकास, प्रतिभा पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
विशेषगरी टेबल टेनिसप्रति विद्यार्थी र अभिभावक दुवैको बढ्दो आकर्षणले आगामी दिनमा यस खेलको भविष्य अझ उज्ज्वल बन्ने संकेत गरेको छ ।
