युवा खेलाडीको खेल विकासका लागि खेल सामाग्री वितरण

धरान । धरानस्थित एन्फा एकेडेमीले आफ्नो पाँचौं ब्याचका तेस्रो वर्षका युवा फुटबल खेलाडीहरूलाई खेल सामग्री वितरण गर्दै उनीहरूको खेल यात्रामा थप ऊर्जा र उत्साह प्रदान गरेको छ । एकेडेमीको सभाहलमा आयोजित कार्यक्रममा ३० भन्दा बढी खेलाडीलाई खेल पोशाक तथा आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोषले धरानको एन्फा एकेडेमीलाई कोशी प्रदेश मात्र नभई समग्र नेपाली फुटबलको गौरवका रूपमा चित्रित गर्दै यसको भौतिक तथा प्राविधिक स्तरोन्नति आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले धरानको यो एन्फा एकेडेमी केवल खेलाडी उत्पादन गर्ने ठाउँ मात्र नभई कोशी प्रदेश र समग्र देशकै खेलकुदको प्रतिष्ठाको प्रतिबिम्ब भएको बताउनुभयो । घोषले हाल प्रशिक्षणरत पाँचौं ब्याचका खेलाडीहरू भविष्यमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने क्षमतासम्पन्न रहेको विश्वास व्यक्त गर्दै प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्दै एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले सीमित स्रोत र पूर्वाधारका बाबजुद एन्फा एकेडेमी धरानले नेपाली फुटबल विकासमा निरन्तर योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले एन्फा एकेडेमी धरानले प्रतिकूल परिस्थिति र सीमित भौतिक पूर्वाधारका बाबजुद पनि नेपाली फुटबललाई संकटका समयमा टेवा पु¥याउँदै आएको बताउनुभयो । राईले खेल सामग्री प्राप्त गरेका युवा खेलाडीहरूलाई उच्च अनुशासन, लगनशीलता र निष्ठाका साथ प्रशिक्षणमा समर्पित हुन आग्रह गर्नुभयो । उहाँले यिनै खेलाडीहरू भविष्यमा नेपाली फुटबलका प्रमुख आधारस्तम्भ बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । खेल सामग्री वितरण कार्यक्रमले युवा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै कोशी प्रदेशको फुटबल विकास अभियानलाई थप गति प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कोशी प्रदेश फुटबल संघका पदाधिकारी, प्रशिक्षक, खेलकर्मी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया