सुनसरी । सुनसरी प्रहरीले लागू औषध नियन्त्रण अभियानअन्तर्गत ठूलो परिमाणमा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । गत जेठ ३१ गते दिउँसो १ः३८ बजे सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष चेकजाँचका क्रममा को २१ प ५६५२ नम्बरको मोटरसाइकल रोकेको थियो ।


पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त मोटरसाइकल चालक रामधुनी नगरपालिका–१ निवासी १७ वर्षीय प्रयास चौधरी र पछाडि सवार सोही स्थानका ३२ वर्षीय अजय चौधरीलाई चेकजाँच गर्दा अजय चौधरीको साथबाट १३.७२ ग्राम ब्राउन सुगर जस्तो देखिने लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागू औषध, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
