असार १० देखि तेस्रो ‘मेयर कप स्कुल ओलम्पिक फेस्टिवल–२०८३’

धरान । खेलकुदको सहरका रूपमा परिचित धरान फेरि एकपटक विद्यालयस्तरीय खेलकुदको माहोलमा रमाउने भएको छ। धरान उपमहानगरपालिकाको संयोजन तथा धरान खेलकुद मञ्चको आयोजनामा आगामी असार १० गतेदेखि तेस्रो ‘धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिवल–२०८३’ सञ्चालन हुने भएको छ । विद्यालय तहका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने, नयाँ प्रतिभाको खोजी गर्ने तथा दीर्घकालीन रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
धरानमा विगतदेखि नै खेलकुद गतिविधिले विशेष स्थान ओगट्दै आएको छ । फुटबल, बास्केटबल, भलिबलदेखि विभिन्न मार्सल आट्र्ससम्मका खेलमा धरानले राष्ट्रिय स्तरमा उल्लेखनीय खेलाडी उत्पादन गर्दै आएको इतिहास छ । यही गौरवशाली परम्परालाई निरन्तरता दिने उद्देश्यले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकासमा केन्द्रित भएर मेयर कप स्कुल ओलम्पिक फेस्टिवल सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् पहिलो स्थानीय सरकारका तत्कालीन मेयर स्वर्गीय तारा सुब्बाको कार्यकालमा सुरु गरिएको धरान मेयर कप स्कुल ओलम्पिक केही वर्ष विभिन्न कारणले नियमित हुन सकेको थिएन । तर यसपटक धरान उपमहानगरपालिकाले प्रतियोगितालाई पुनः निरन्तरता दिँदै संस्थागत रूपमा अगाडि बढाएको छ । यसले धरानको खेलकुद क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी खेलाडीहरूले १० वटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, सितोरियो कराते, तेक्वान्दो, उसु, टेबलटेनिस, ब्याडमिन्टन र सेपाकताक्रो गरी १० खेल समावेश गरिएको आयोजकले जनाएको छ । विभिन्न उमेर समूहका छात्र तथा छात्राहरूको सहभागिताले प्रतियोगिता थप आकर्षक र प्रतिस्पर्धात्मक बन्ने विश्वास गरिएको छ । धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईका अनुसार विद्यालयस्तरमा लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्दै भविष्यका राष्ट्रिय खेलाडी तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । उहाँले स्कुल ओलम्पिक केवल प्रतिस्पर्धामा सीमित नभई अनुशासन, नेतृत्व क्षमता, खेल संस्कृतिको विकास र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने अभियानका रूपमा समेत अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताले विद्यालयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्दै प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार पार्ने आधार निर्माण गर्नेछ । साथै अन्य स्थानीय तहले पनि विद्यालयस्तरीय खेलकुद विकासका लागि धरानको यो अभियानलाई नमुनाका रूपमा लिन सक्ने विश्वास व्यक्त गरिएको छ । आयोजकले प्रतियोगितालाई दीर्घकालीन योजनासँग जोडेर अगाडि बढाएको जनाएको छ । आगामी १० देखि १५ वर्षभित्र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय ओलम्पिक चार्टरको मापदण्डअनुसार प्रतिस्पर्धा गर्न सक्ने स्तरमा विकास गर्ने लक्ष्यसहित स्कुल ओलम्पिकलाई निरन्तरता दिइने अध्यक्ष राईले बताउनुभयो । विद्यालय तहबाट सुरु हुने व्यवस्थित प्रशिक्षण, नियमित प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रममार्फत अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने उहाँको धारणा छ ।
धरान उपमहानगरपालिकाले पनि खेलकुदलाई शिक्षा र सामाजिक विकाससँग जोडेर अघि बढाउने नीति लिएको जनाएको छ । विद्यालयस्तरमै प्रतिस्पर्धात्मक खेल संस्कृतिको विकास गर्दै नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न तथा लागुऔषध, दुव्र्यसन र अन्य सामाजिक विकृतिबाट टाढा राख्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
खेलकुदका माध्यमबाट अनुशासित, स्वस्थ र सक्षम नागरिक निर्माण गर्ने लक्ष्यसहित आयोजना हुन लागेको तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिवल–२०८३ ले धरानको खेलकुद गतिविधिलाई थप चलायमान बनाउनुका साथै भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधार तयार पार्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको तयारी तीव्र
पारिएको आयोजकले जनाएको छ भने धरान खेलकुदमय वातावरणमा प्रवेश गर्ने संकेत देखिएको छ ।

तपाईको प्रतिक्रिया