धरान । एक दशक अगाडि आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा वीरेन्द्रसिंह थापाद्वारा गठन गरिएको शारा थापा स्मृति प्रतिष्ठानको आयोजनामा धरानमा मावि स्तरीय वृहत् निबन्ध प्रतियोगिता आयोजना हुने भएको छ । ‘हाम्रो धरान, हाम्रो गौरव’ भन्ने मूल नाराका साथ आयोजना हुने निबन्ध प्रतियोगितामा निबन्धकारहरूले धरानको सांस्कृतिक तथा शैक्षिक उन्नयनका सम्बन्धमा आफ्ना विचार र सिर्जनशीलताहरू प्रस्तुत गर्नुपर्ने सीमा निर्धारण गरिएको छ । आयोजक शारा थापा स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्रसिंह थापाका अनुसार निबन्ध प्रतियोगिता असार ५ गते स्थानीय पब्लिक हाईस्कुलमा सम्पन्न गरिने र पुरस्कार, सम्मान असार ७ गते सम्पन्न गरिने छ । निबन्ध प्रतियोगीहरूको उत्कृष्ट निबन्ध छनोटका लागि तीन सदस्यीय निर्णायक मण्डल रहने छ । जसमा डा. महानन्द तिम्सिना, डा. भवानीशंकर भट्टराई र विष्णु खतिवडा रहनु भएको छ भने कार्यक्रम सहयोगीका रूपमा विष्णु बराल र मोहन श्रेष्ठ रहनु भएको छ । कार्यक्रम गर्नुको प्रमुख उद्देश्य के हो त भन्ने सवालमा प्रतिष्ठानका अध्यक्ष थापाले भन्नुभयो, “यो संस्था मैले बुबा–आमाको नाममा ११ वर्ष अगाडि गठन गरेसँगै धरानको उन्नयनमा केही योगदान पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यले हरेक वर्ष यस प्रकारको कार्यक्रमको आयोजना गर्दै आएको हुँ । सबैसँग जोडिऔँ भन्ने पवित्र उद्देश्य छ । मैले मेरो नामका लागि, मेरो प्रशंसाका लागि गरेको होइन । मैले एउटा पवित्र कर्म मात्र गरेको हुँ । म आजीवन यसलाई निरन्तरता दिन्छु, मेरो शेषपछि के गर्छन् थाहा छैन । मचाहिँ यसको माध्यमबाट हिँडिरहन्छु, बगिरहन्छु ।” वि.सं. २०७३ साल जेठ ८ गते प्रतिष्ठानले पहिलो कार्यक्रम सिद्धी नेवाः परिषदमा गरेको थियो । तत्पश्चात यसको निरन्तरता कायमै छ ।

कार्यक्रमका लागि स्रोतको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ त भन्ने सवालमा अध्यक्ष थापाले भन्नुभयो, “मेरो प्रत्येक महिना प्राप्त हुने पेन्सनको आधा रकम यस्तै कार्यक्रमका लागि छुट्याउँदै आएको छु र यसैबाट कार्यक्रम सम्पन्न गर्दै आएको छु ।” यस पटकको कार्यक्रममा २० वटा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरूले निबन्ध प्रतियोगिताका लागि आवेदन दिइसकेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार तथा सान्त्वना पुरस्कार १ हजार ५ सयसँगै सम्मानपत्र प्रदान गरिने भएको छ । यसका अलावा समाजसेवी एवं धरान नगरपञ्चायतका पूर्व प्रधानपञ्च श्याम गोविन्द श्रेष्ठलाई सम्मान, पब्लिक माविका प्रधानाध्यापक डा. इन्द्रमोहन झालाई सम्मान, धरान उपमहानगरपालिकाका महिला सफाइ कर्मचारीलाई वस्त्र तथा शैक्षिक –सामाजिक क्षेत्रमा समर्पित व्यक्तिहरूलाई समेत केही सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।
