इटहरी । इटहरीका सफल व्यवसायी एवं समाजसेवी गोविन्द कृष्ण सोनी महेश्वरी समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । विराटनगरमा आइतबार भएको समाजको आठौँ साधारणसभाले सोनीलाई सर्वसम्मत रुपमा समाजको केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । देशका विभिन्न स्थानबाट आउनुभएका प्रतिनिधिहरुले केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी मनोनयन नगरेपछि सोनी आगामी तीन वर्षका लागि केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

इटहरीस्थित ललित मिल मेसिनरीका सञ्चालक, रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्ष एवं विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई लामो समयदेखि समाजसेवामा सोनी सक्रिय रहँदै आउनुभएको थियो । साधारणसभा अखिल भारतवर्षीय महेश्वरीका प्रतिनिधिको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समाजका नेपाल र भारतमा मात्र नभएर संसारका दर्जनौँ देशहरुमा शाखाहरु रहेका छन् । एक्काइस सदस्यीय कार्यसमिति रहने समाजका अन्य पदाधिकारीहरुको चयन अध्यक्षले नै गर्ने प्रावधान रहेको छ । जसमा महिला महेश्वरी समाजतर्फबाट एकजना, युवा महेश्वरी समाजतर्फबाट एकजना र निवर्तमान अध्यक्ष वरिष्ठ सल्लाहकार रहने व्यवस्था रहेको छ ।
