मादेनद्वारा पदको दुरुपयोग

फुङलिङ । ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पदको दुरुपयोग गरी अराजकता मच्चाएको मुक्कुम्लुङ्ग संयुक्त संघर्ष समिति र केवलकार खारेजी संयुक्त संघर्ष समितिले आरोप लगाएका छन् । मुक्कुम्लुङ्ग संयुक्त संघर्ष समितिका संयोजक लिखम र केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बुले आइतबार एक अपिल प्रकाशित गर्दै त्यस्तो आरोप लगाएका हुन् । संयुक्त रुपमा जारी अपिलमा भनिएको छ, पाथीभरा जस्तो पवित्र धार्मिक सांस्कृतिक सम्पदाका साथै मुन्धुमी स्थल मुक्कुम्लुङ्ग क्षेत्रमा केवलकार विकासको नाममा विनाश र व्यापारिक केन्द्र बनाउन खोजिएकोले विगत लामो समयदेखि आन्दोलनरत रहेको कुरा विदितै छ । केही व्यक्ति र फुङलिङ नगरपालिकाका
अराजक मेयर अमिर मादेन आर्थिक प्रलोभन तथा नीतिगत भ्रष्टाचार गरेर स्थानीय बासिन्दाले केवलकार निर्माणविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दा गर्दै जबरजस्ती निर्माण कार्यमा सहयोग गर्दै आएको विदितै छ ।

मुक्कुम्लुङ्ग क्षेत्रको अतिक्रमण र केवलकार खारेज गर्न भएको आन्दोलन र आन्दोलनका क्रममा भएको दमन, विभिन्न गम्भीर प्रकृतिका घटना, मानवअधिकारको चरम उल्लङ्घनको विषयले देशमा मात्र नभएर विदेशमा समेत चर्चा पाएको र वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण भई अनुगमन टोली खटाई स्थलगत अनुगमन गरी छानबिन अनुसन्धान भइरहेको अवस्थामा छानबिन प्रक्रियामै प्रभाव पार्ने उद्देश्यले मेयर मादेनले फुङलिङ नगर क्षेत्रका कर्मचारी, शिक्षक, नाबालक, निर्दोष विद्यार्थीहरुलाई केवलकार बन्नु पर्छ भन्ने ¥यालीमा अनिवार्य उपस्थित हुन निर्देशन दिई ह्विप जारी गरेकोप्रति घोर आपत्ति जनाएका छन् । उनीहरुले नगर प्रमुख जस्तो जिम्मेवार पदमा रहेर केवलकार निर्माण कम्पनीको दलाल एजेन्ट, कर्मचारी, बिचौलिया जस्तो भूमिका खेली पद र जिम्मेवारीको दुरुपयोग गरेकोले प्रचलित ऐन कानुन बमोजिम कारबाहीको भागिदार हुनुपर्ने अपिलमा जनाएका छन् । अपिलमा उहाँहरुले धार्मिक सांस्कृतिक तथा न्यायप्रेमी कर्मचारी, शिक्षक, विद्यार्थी, नागरिक समाज, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मीका साथ आम जनसमुदायहरुलाई समाज भड्काउने, शान्ति सुरक्षा खलबल्याउने, अराजक गतिविधि गराउन उक्साउने, निजी नाफाखोर कम्पनीलाई पृष्ठपोषण गर्ने जस्ता गैरजिम्मेवार नगर प्रमुख मादेनले आह्वान गरेको कार्यक्रममा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया