बाँकी बक्यौता उठाउने धरान खानेपानी बोर्डको अभियान सफल हुदै

धरान । खानेपानी महसुल नतिर्ने उपभोक्तालाई लक्षित गर्दै धरान खानेपानी व्यवस्थापन बोर्डले सञ्चालन गरेको शतप्रतिशत जरिवाना मिनाहा योजना अत्यन्त प्रभावकारी बनेको
छ । वर्षौंदेखि थन्किएको बक्यौता उठाउन संघर्ष गरिरहेको बोर्डले वैशाख महिनामा मात्रै १ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्दै नयाँ रेकर्ड कायम गरेको छ ।
बोर्डका निर्देशक राजु पोख्रेलले सार्वजनिक गर्नुभएकोे वित्तीय प्रतिवेदनअनुसार वैशाख मसान्तसम्म ४ हजार १ सय ७१ जना उपभोक्ताले बक्यौता चुक्ता गरेका छन ्। उनीहरूबाट कुल १ करोड ७५ लाख २६ हजार ४ सय ९२ रुपैयाँ संकलन भएको हो । उपभोक्तालाई राहतस्वरूप बोर्डले ६२ लाख ६१ हजार ५ सय ६० रुपैयाँ ३० पैसा बराबरको विलम्ब शुल्क मिनाहा गरेको जनाएको छ । सबैभन्दा चासोको विषय भने लामो समयदेखि महसुल नतिरेर निष्क्रिय रहेका उपभोक्ताहरू पुनः भुक्तानी प्रक्रियामा आउनु हो । निर्देशक पोख्रेलका अनुसार वर्षौंदेखि बक्यौता थुपारेर बसेका २ सय ४४ जना पुराना ग्राहकबाट मात्रै झण्डै १ करोड रुपैयाँ असुल भएको छ । उनीहरूले ९९ लाख ६४ हजार ७ सय २५ रुपैयाँ ७० पैसा तिरेका छन् भने ४४ लाख ६० हजार रुपैयाँभन्दा बढी जरिवाना छुट पाएका छन् ।

साना तथा मध्यम बक्यौता भएका उपभोक्ताले पनि सहुलियत योजनामा उल्लेखनीय सहभागिता जनाएको बोर्डका अध्यक्ष अइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो । उहाँका अनुसार ५ हजारदेखि ३५ हजार रुपैयाँसम्म बक्यौता भएका १ सय ६० जना ग्राहकले १६ लाख ८९ हजार रुपैयाँभन्दा बढी चुक्ता गरेका छन् । यस्तै ५ हजार रुपैयाँभन्दा कम बक्यौता भएका ३ हजार ७ सय ६७ जना उपभोक्ताबाट ५८ लाख ७२ हजार रुपैयाँभन्दा बढी रकम संकलन भएको बोर्डले जनाएको छ । यद्यपि सफल असुली अभियानसँगै बोर्डसामु ठूलो चुनौती अझै बाँकी छ । हालसम्म ३ हजार १३ जना उपभोक्ताबाट २ करोड ३ लाख ३८ हजार रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ३० महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने ५ सय ५२ जना उपभोक्ताबाट मात्रै ९१ लाख रुपैयाँभन्दा बढी उठ्न बाँकी रहेको देखिन्छ । सहुलियत दिँदा पनि पानीको महसुल नतिर्नेको लाइन नै काटिनेसम्मको कारबाही अगाडि बढाइने बोर्डका अध्यक्ष बेघाले जानकारी दिनुभयो । जरिवाना छुट कार्यक्रमले अपेक्षाभन्दा राम्रो परिणाम दिएको जनाइएको छ । संकलित रकम खानेपानी पूर्वाधार विस्तार, पाइपलाइन मर्मत तथा नयाँ पानीका स्रोत खोज्न खर्च गरिन जनाइएको छ । बोर्डले नियमित महसुल भुक्तानीबिना गुणस्तरीय खानेपानी सेवा सञ्चालन गर्न कठिन हुने उल्लेख गर्दै बाँकी उपभोक्तालाई पनि तत्काल बक्यौता चुक्ता गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया