धरानका वडा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमा औषधि नै छैन

धरान । सर्वसाधारणको स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले धरान उपमहानगरपालिकाले वडा(वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरे पनि ती केन्द्रहरूको प्रभावकारितामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । सरकारले निःशुल्क रूपमा ९८ प्रकारका औषधि उपलब्ध गराउने नीति लिएको भए पनि धरानका अधिकांश आधारभूत स्वास्थ्य केन्द्रहरूमा सामान्य सिटामोलसमेत अभाव हुन थालेपछि स्थानीयवासी निराश बनेका छन् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा मातहत सञ्चालित यी केन्द्रहरूमा सेवा लिन पुगेका बिरामीहरूले आवश्यक औषधि नपाउँदा निजी क्लिनिक र महँगा फार्मेसी धाउनुपर्ने बाध्यता झेलिरहेका छन् । स्वास्थ्य सेवा नागरिकको घरदैलोमै पु¥याउने लक्ष्यसहित स्थापना गरिएका केन्द्रहरूमा औषधिको चरम अभाव भएपछि सेवाको गुणस्तरमाथि नै प्रश्न उठ्न थालेको हो । धरानका विभिन्न वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्रहरूको अवस्था हेर्दा अधिकांश औषधि दराज खाली देखिन्छन् । केही केन्द्रमा सीमित मात्रामा झाडापखाला, ज्वरो वा सामान्य संक्रमणका औषधि भए पनि सरकारले सूचीमा राखेका अधिकांश औषधि उपलब्ध छैनन् । सेवाग्राहीहरू सामान्य स्वास्थ्य समस्याका लागि पनि निजी अस्पताल वा मेडिकल पसल जान बाध्य छन् ।

धरान–५ स्वास्थ्य चौकीकी सिए अनमी छैठौँ मोहनकुमारी राईका अनुसार केन्द्रमा आउने बिरामीको चाप बढ्दो भए पनि औषधि आपूर्ति नियमित हुन सकेको छैन । यस्तै, धरान–२० स्थित आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी हिरा मगरले पनि औषधि अभावकै कारण सेवाग्राही असन्तुष्ट बन्ने गरेको बताउनुभयो । उहाँका अनुसार केन्द्रमा उपचारका लागि आउने धेरै बिरामी औषधि नपाएर फर्किनुपरेको अवस्था छ । स्थानीयवासीहरू भने सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य सेवा व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गर्छन् । सरकारले ९८ प्रकारका औषधि पाइने भनिए पनि गरिब जनताका लागि भनेर खोलिएका केन्द्र प्रभावकारी नहुँदा निजी मेडिकलमा महँगो पैसा तिर्न सर्वसाधारण बाध्य छन् । यता धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले औषधि आपूर्तिमा समस्या भएको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार खरिद प्रक्रिया, आपूर्ति व्यवस्थापन तथा केही प्राविधिक कारणले औषधि वितरण प्रभावित भएको हो । उहाले धरानको सुगम वडामा स्वास्थ्यको पहुँच हुने भएकोले दुर्गम वडा धरान ५, ६ र २० मा भने सकेसम्म औषधिको अभाव हुन नदिएको बताउनुभयो । केन्द्रले औषधिको आपूर्ति व्यवस्था सहज बनाउन प्रयासरत रहेको र केही प्राविधिक र खरिद प्रक्रियाका कारण ढिलाइ भएको बताउदै आएको छ । सरकारले तोकेका ९८ प्रकारका औषधिहरू सबै केन्द्रमा पु¥याउने हाम्रो लक्ष्य राखेपनि केही कमजोरी कारण पु¥याउन कठिन भएको स्वीकार्दै छिट्टै समाधान जानकारी र्दिँदै आएको छ । तर स्थानीयहरू भने आश्वासनभन्दा व्यवहारिक सुधारको अपेक्षामा छन् । स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको लगानी बढे पनि आधारभूत स्वास्थ्य केन्द्रहरूमा पर्याप्त औषधि, दक्ष जनशक्ति र नियमित सेवा सुनिश्चित हुन नसक्दा घरदैलोमै स्वास्थ्य सेवा भन्ने नारामै सीमित भएको नागरिकहरूको गुनासो छ ।

तपाईको प्रतिक्रिया