धरान । एक वर्षअघि जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था कार्यालय इटहरीमा भएको आगजनीले हजारौं सवारी साधनको सरकारी अभिलेख खरानी बनायो । कार्यालयका दराजमा सुरक्षित राखिएका सवारी दर्ता किताबका प्रतिलिपि, राजस्व अभिलेख तथा अन्य सरकारी ढड्डाहरू जलेर नष्ट भए । यसैको सहजीकरणका लागि धरानमा घुम्ती शिविरको आयोजना गरिएको छ । आगजनीपछि त्यसको प्रत्यक्ष असर अहिले पनि सवारीधनी, व्यवसायी र ट्राफिक प्रशासनले भोगिरहेका छन् । कतिपय सवारी साधन कर तिरेर पनि अभिलेखविहीन बने । नामसारी रोकियो । सडकमा ट्राफिक जाँचका क्रममा सवारीधनीले दुःख पाए । सरकारी रेकर्ड नै नहुँदा वास्तविक सवारीको पहिचान पुष्टि गर्न कठिन परिस्थिति सिर्जना भयो । यही जटिल अवस्थालाई समाधान गर्ने उद्देश्यले यातायात व्यवस्था कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानको नयाँ बसपार्कमा एकदिने सार्वजनिक सवारी साधनहरूको अभिलेखीकरण सम्बन्धी घुम्ती सेवा कार्यक्रम सञ्चालन गरेका छन् । बिहानैदेखि नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारी साधनका धनी, चालक तथा व्यवसायीहरूको भीड देखिन्थ्यो । हातमा पुरानो ब्लुबुक, कर तिरेको रसिद र नागरिकताका प्रतिलिपि बोकेर आएका सेवाग्राहीहरू आफ्ना सवारीको अस्तित्व पुनः सरकारी प्रणालीमा फर्किने आशामा लाइनमा बसेका थिए । शिविरमा सहभागी कर्मचारीहरूले सवारीधनीसँग रहेको सक्कल ब्लुबुक र विगतका राजस्व रसिदका आधारमा नयाँ डिजिटल प्रणालीमा पुनः अभिलेख राख्ने काम गरिरहेका थिए । आगजनीले कागजी संरचना ध्वस्त बनाए पनि सेवाग्राहीसँग बाँकी रहेका कागजातकै आधारमा सरकारी रेकर्ड पुनः निर्माण गर्ने प्रयासलाई धेरैले राहतको रूपमा लिएका छन् ।

यातायात व्यवस्था कार्यालय इटहरीका प्रतिनिधि मानबहादुर देवकोटाका अनुसार आगजनीपछि कार्यालयसँग धेरै सवारी साधनको मुख्य प्रतिलिपि नै बाँकी रहेन । त्यसैले अहिले सवारीधनीसँग रहेको ब्लुबुकलाई नै आधिकारिक आधार मानेर डिजिटल सर्भरमा पुनः अभिलेखीकरण सुरु गरिएको हो । उहाँका अनुसार यसले इटहरी धाइरहनुपर्ने बाध्यता कम गर्नुका साथै सेवाग्राहीलाई स्थानीय स्तरमै सहज सेवा दिने वातावरण बनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल मावोहाङले अभिलेख नहुँदा ट्राफिक प्रहरीलाई सडकमा सवारीको वैधानिकता जाँच गर्न समस्या भइरहेको बताउनुभयो । चोरीका सवारी पहिचान गर्नेदेखि नियमित चेकजाँचसम्म कठिन बनेको अवस्थामा यो अद्यावधिक अभियान प्रभावकारी हुने उहाँको विश्वास छ । शिविरप्रति यातायात व्यवसायी तथा मजदुर संगठनहरू पनि उत्साहित देखिएका छन् । यातायात व्यवसायी याम कार्की र यातायात मजदुर नेता राजमणि निरौलाले संयुक्त रूपमा यस्तो सेवा प्रभावकारी र समयानुकूल भएको प्रतिक्रिया दिनुभयो । उहाँहरूका अनुसार धेरै चालक तथा व्यवसायी कागजात नष्ट भएपछि अन्योल र त्रासमा थिए । अब भने सरकारी अभिलेख पुनःस्थापित हुन थालेपछि सवारी सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ । उहाँहरूले यस्तो घुम्ती सेवा धरानमा मात्र सीमित नगरी सुनसरीका ग्रामीण क्षेत्र तथा पहाडी जिल्लाहरूमा समेत विस्तार गर्नुपर्ने माग गर्नुभएको छ । विशेष गरी लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालकहरूलाई जिल्ला बाहिर पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउन राज्यले थप सहजीकरण गर्नुपर्ने उनीहरूको भनाइ छ । आगजनीले नष्ट गरेको सरकारी अभिलेख पुनः निर्माण गर्नु केवल प्रशासनिक काम मात्र होइन, हजारौं सेवाग्राहीको दैनिक जीवनलाई सामान्य अवस्थामा फर्काउने प्रयास पनि हो । धरानमा सुरु भएको यो घुम्ती शिविरले प्रविधिको प्रयोगमार्फत अभिलेखिकरणमा सहज हुने त छँदैछ यातायात व्यवसायीहरुले भोग्दै आएको पीडा समेत हँटेर जाने निश्चित छ ।
