भारतीय सहयोगमा अछाममा विद्यालय भवन निर्माणको शिलान्यास

काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको मेल्लेखमा भारतीय सहयोगमा निर्माण हुने विद्यालय भवनको वैशाख २९ गते एक समारोहबीच शिलान्यास भएको छ ।
अछामको मेल्लेख गाउँपालिका वडा नं. ४ स्थित निर्माण हुने बासुकी माध्यमिक विद्यालय भवनको नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिका अनुसार भारत सरकारको आर्थिक सहयोगमा रु ३.८ करोडको लागतमा सुविधासम्पन्न अत्याधुनिक विद्यालय भवन निर्माण हुने भएको छ । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको र सोको कार्यान्वयन मेल्लेख गाउँपालिका अन्तर्गत गरिने विज्ञप्तिमा जनाइएको छ ।


सो अवसरमा बोल्दै मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले भन्नुभयो, नेपालको दुर्गम जिल्ला अन्तर्गत रहेको अछामको मेल्लेख गाउँपालिकाको वडा नं. ४ मा अत्याधुनिक सुविधासम्पन्न विद्यालय भवन निर्माण हुनु गौरवको कुरा हो । परम्परागत रूपमा निर्माण भएको जीर्ण अवस्थाको विद्यालय भवनका कारण पठनपाठनमा विद्यार्थीहरूले कष्ट झेल्दै आएका थिए । पानी परेको अवस्थामा विद्यालय भवन चुहिने र हिउँदमा सिरेटोका कारण मौसम हेरेर विद्यालय सञ्चालन हुँदै आएको स्मरण गर्दै उहाँले अब नयाँ बन्ने भवनबाट विद्यार्थीहरूले निर्धक्क पठनपाठनलाई अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालय भवन निर्माणका लागि भारत सरकारले गरेको आर्थिक सहयोगको अध्यक्ष साउदले प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । शिलान्यास कार्यक्रममा अन्य सरोकारवालाहरूले पनि भारत सरकारको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया