धरान । धरान उपमहानगरपालिका वडा नं. १६ गणेशमान सिंह चौकस्थित जनपथ जागरण समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार बिहान ८ः३० बजेदेखि ११ः३० बजेसम्म भएको उक्त रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकलन भएको समाजका सचिव बुद्ध रिजालले जानकारी दिनुभएको छ । यसभन्दा अगाडि अर्थात् गत वर्ष गरिएको रक्तदान कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको सचिव रिजालले जानकारी दिनुभयो । अपरझट रक्तदान कार्यक्रम गर्नुपरेकाले विगतको तुलनामा केही कम रगत संकलन भएको उहाँले बताउनुभयो ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा स्थानीय युवाहरू स्वस्फूर्त रूपमा सहभागी भएका थिए । समाजमा जागरणसँगै सामाजिक गतिविधिलाई अगाडि बढाउने उद्देश्यले स्थापना भएको समाजद्वारा आयोजित रक्तदान कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरी धरानले गरेको थियो । कार्यक्रमसँगै रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
