फर्जी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको किर्ते हस्ताक्षरबाट चौवन्न प्रतिशतको उपस्थिति देखाई कथित विशेष महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउन सफल गगन थापाकै कारण अन्ततः नेपाली काँग्रेस फुटको संघारमा पुगेको छ । अति पदीय महत्वाकांक्षा बोकेको थापाकै कारण प्रतिनिधिसभा २०८२ को निर्वाचनमा नेपाली काँग्रेसले मुलुकैभरि सर्वनाश हार व्यहोर्नु प¥यो । एउटा ऐतिहासिक पार्टीको सभापति स्वयं राष्ट्रिय राजनीतिमा कुनै औकात र हैसियत नभएको व्यक्तिसँग लज्जास्पद हार व्यहोर्छ भने त्यो नेतृत्व अस्वीकार्य भएको र नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्छ । विगत कैयन् निर्वाचनहरूमा भए पनि स्वयं पार्टीको मूल नेतृत्वले निर्वाचन हारेको इतिहास छैन । सन्त नेता कृष्णप्रसाद भट्टराईलाई आफ्नै भित्रको अन्तरघातले निर्वाचनमा हराइएको बाहेक गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवाले पार्टी सभापतिको हैसियतमा रहँदा कहिल्यै निर्वाचन हार्नु परेन । नियमित १५ औं महाधिवेशन प्रतिनिधिसभाको निर्वाचनपछि गर्ने गरी तत्कालीन नेतृत्वले कार्यतालिका सार्वजनिक गरिसकेको थियो । तर थापा इतरलाई तत्काल पार्टी नेतृत्व हत्याउने हतार भयो । फगत पदीय आकांक्षाले गरिएको विशेष महाधिवेशनले मुलुकभरिका काँग्रेस कार्यकर्ताहरू विभाजित हुन पुगे । यही विभाजनका कारण उनीहरूमा पार्टीप्रतिको मोहभंग भयो । फलतः नेपाली काँग्रेसका आम उम्मेदवारहरूले जमानत समेत जोगाउन सकेनन् । तर यो कुरा वर्तमान कथित पार्टी नेतृत्वले स्वीकार गर्न नसक्नु विडम्बना हो ।
पार्टी लहड, आडम्बर, भुकाइ, छलछाम, निकम्मापन, धाकधम्की, दादागिरी, हप्काइबाट चल्ने होइन । त्यसका लागि संयम, विवेक, संस्कार, सम्पर्क, मिजास, ठोस कार्ययोजना, अग्रजप्रतिको सम्मान आदिबाट सञ्चालन हुने हो । अग्रजहरूले पार्टी निर्माण गर्न ठूलो बलिदान दिएका छन्, त्याग गरेका छन् । काँग्रेस त्यसै काँग्रेस भएको होइन । जब अग्रजप्रति दुव्र्यवहार हुन्छ, उनीहरूले गरेको त्यागको मूल्यांकन हुँदैन, उनीहरूको सम्मान हुँदैन, त्यसबेला आम कार्यकर्ता फरक बाटो रोज्न बाध्य हुन्छन् । वर्तमान नेतृत्व जुन संस्कारबाट आएको छ, अब त्यसमा डन प्रवृत्तिका व्यक्ति, अवसरपरस्त, अपराधबाट संरक्षण पाउने मनसायका मात्र हाबी हुने निश्चित छ । विगतमा नेपाली काँग्रेसको मुलुकभर ८ लाखभन्दा बढी सक्रिय सदस्य रहेका थिए । यो संख्या यसपटक दुई लाख समेत नपुग्ने देखिएको छ । अझ वर्तमान कथित नेतृत्वले जेठ २१ गतेसम्म क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीबाट आउट गर्ने जुन शैली व्यवहार देखाएको छ, त्यसले आम कार्यकर्ता काँग्रेसको सक्रिय सदस्यता नै नवीकरण नगर्ने मनस्थितिमा पुगेका छन् । कार्यकर्ता नेतृत्वको दास, गुलाम होइनन्, नेतृत्वको मुख हेरेर काँग्रेसमा आबद्ध भएका पनि होइनन् । पार्टीको विचार, आदर्श, पद्धतिबाट प्रभावित भएर आबद्ध भएका हुन् । धम्क्याउँदैमा केही सक्रिय सदस्यताका लागि दौडेर फारम भर्न जाँदैनन् । अवस्था यस्तै देखिएको छ । नेतृत्वले माने चामल भर्दैन, रोजगारीको व्यवस्था गर्दैन, अप्ठेरो पर्दा आर्थिक लाभ नलिई कसैको काम भएको छैन भने उनीहरू स्वेच्छाले कुनै न कुनै राजनीतिक पार्टीप्रति स्वाभाविक रूपमा आबद्ध हुन्छन् । सम्भवतः जेठ २१ गते पश्चात् मुलुकमा बीपी, किशुनजी, गणेशमानसिंहजस्ता आदर्श पुरुषको विचार बोकेको अर्कै पार्टीको उदय भएमा त्यसलाई अन्यथा नमान्दा हुन्छ । परिस्थिति यस्तै देखिएको छ र सम्भवतः त्यसमा ब्रेक लाग्ने सम्भावना पनि देखिएको छैन ।
