औषधि व्यवसायीलाई मर्यादित बनाउन तालिमको आयोजना

धरान । औषधि व्यवसायीहरुलाई व्यवस्थित र विक्री वितरण गर्दा औषधि विक्री वितरण संहिताको विषयमा जानकारी गराउने उद्देश्यले धरानमा एक दिने अभिमुखी कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाको आयोजनामा औषधिको समुचित प्रयोग, वैज्ञानिक भण्डारण तथा बिक्री–वितरण सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रममा सुनसरीभरिका औषधि व्यवसायीहरुको सहभागिता रहेको थियो । औषधि व्यवस्था विभाग कोशी प्रदेश कार्यालय विराटनगरको प्राविधिक सहजीकरणमा आयोजित कार्यक्रममा नयाँ जारी गरिएको ‘औषधि बिक्री वितरण संहिता २०८०’ का व्यवस्था र कार्यान्वयनका विषयमा औषधि व्यवसायीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा सुनसरी जिल्लाभरिका करिब २ सय भन्दा बढी औषधि व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा औषधि बिक्री वितरण प्रक्रियालाई व्यवस्थित बनाउने, औषधिको गुणस्तर र प्रभावकारिता कायम राख्ने तथा जनस्वास्थ्यप्रति व्यवसायीहरूको जिम्मेवारी थप सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको थियो । सो अवसरमा कार्यक्रमको विषयमा जानकारी दिँर्दै नेपाल औषधि व्यवसायी संघ सुनसरीका अध्यक्ष दिपेन्द्र सिंहले राज्यले निर्धारण गरेका मापदण्डभित्र रहेर व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमले सुनसरी जिल्लाका औषधि पसलहरूलाई थप व्यवस्थित, सुरक्षित र जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष सिंहले व्यवसायीहरूको हकहित संरक्षणसँगै जनस्वास्थ्यप्रतिको जिम्मेवारीलाई पनि संघले प्राथमिकतामा राखेको बताउँदै व्यवसायीहरूले आफ्नो पेशागत उत्तरदायित्वलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी संघका सचिव हिमाल लिम्बुले कार्यक्रम सञ्चालन गर्दै व्यवसायीहरूको उल्लेखनीय सहभागिता र उत्साहले कार्यक्रमको सान्दर्भिकता पुष्टि गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्राविधिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो । औषधि व्यवस्था विभाग कोशी प्रदेश कार्यालयका प्रतिनिधि एवं सहजकर्ता दिपेन्द्र खड्काले कार्यपत्र प्रस्तुत गर्दै औषधिको सुरक्षित भण्डारण, तापक्रम व्यवस्थापन (कोल्ड चेन), म्याद नाघेका औषधिको उचित व्यवस्थापन तथा औषधि पसलको भौतिक पूर्वाधार सम्बन्धी मापदण्डबारे विस्तृत जानकारी दिनुभयो । उहाँले औषधि केवल व्यापारिक वस्तु नभई मानव जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील सामग्री भएकाले यसको बिक्री(वितरणमा कानुनी मापदण्ड र व्यावसायिक नैतिकताको पालना अनिवार्य रहेको बताउनुभयो । खड्काले औषधिको प्रभावकारिता कायम राख्न उचित तापक्रम र आद्र्रता व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै गलत औषधि प्रयोग रोक्न र गुणस्तरीय सेवा सुनिश्चित गर्न व्यवसायीहरू थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । बिरामीलाई औषधिको सही मात्रा, प्रयोग विधि तथा आवश्यक परामर्श दिनु पनि व्यवसायीहरूको दायित्व भएको उहाँको भनाइ थियो । कार्यक्रममा औषधि व्यवस्थापनका प्राविधिक पक्ष, कानुनी प्रक्रिया, पसल निरीक्षणका क्रममा देखिने समस्या तथा समाधानका उपायबारे व्यवसायीहरूले सहजकर्तासँग अन्तरक्रिया गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई औषधिको समुचित प्रयोग तथा जिम्मेवार बिक्री(वितरण सम्बन्धी प्रतिबद्धता गराइएको थियो । नेपाल औषधि व्यवसायी संघ सुनसरीले व्यावसायिक एकता, हाम्रो प्रतिबद्धता भन्ने नारासहित औषधिको गुणस्तर कायम राख्दै जनस्वास्थ्यमा योगदान पु¥याउने प्रतिबद्धता दोहो¥याएको थियो ।

तपाईको प्रतिक्रिया