धरान । किरात राई समुदायको मौलिक संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरीको धरानमा उभौली पर्वको अवसर पारेर प्रतियोगितात्मक साकेला नृत्य प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ । किरात राई यायोख्खा सुनसरीको आयोजनामा धरान १७ साकेला पार्कमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्लाभरिका विभिन्न किरात राई यायोख्खा इकाइबाट आएका प्रतिनिधि समूहहरूले मौलिक भेषभूषासहित साकेला सिली नृत्य प्रदर्शन गरेका थिए । झोल झ्याम्टासहित प्रस्तुत साकेला नृत्यमार्फत सहभागीहरूले प्रकृतिप्रतिको सम्मान, कृषि संस्कृतिसँग जोडिएको जीवनशैली तथा किरात सभ्यताको मौलिक पहिचान प्रस्तुत गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता किशोर राइले किरात राईहरुको मौलिक पर्व साकेलालाई जीवन्त राख्न प्रत्येक वर्ष प्रतियोगितात्मक साकेला नृत्य आयोजना गर्दै आएको बताउनुभयो । उहाँले आधुनिकतासँगै परम्परागत संस्कृति हराउँदै जान थालेकाले यसको संरक्षणका लागि समुदाय नै सक्रिय हुनुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक, सामाजिक तथा हरेक क्षेत्रमा किरात राईहरुको प्रतिनिधित्वलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै किरात राई यायोख्खाका पूर्व केन्द्रीय अध्यक्ष तिलक राईले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण बिना जातीय अस्तित्व कमजोर बन्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवापुस्तालाई आफ्नो पहिचानप्रति गर्व गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले साकेला पर्वले किरात समुदायलाई एकताबद्ध बनाउने मात्र नभई सांस्कृतिक चेतनालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले विगतका अभियानमा रहेका किरात राईहरुको आन्दोलनलाई पनि यस्ता साँस्कृतिक कार्यक्रमले थप सहयोग पुग्ने बताउनुभयो । संस्थाका अध्यक्ष राजेन्द्र राईको सभापतित्व तथा संघीय सांसद हर्कराज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । किरात राई समुदायले वर्षमा दुई पटक उधौली र उभौली पर्व मनाउने परम्परा रहेको छ । उभौली पर्व विशेषगरी खेतीपाती सुरु गर्ने समयसँग जोडिएको पर्व हो । गर्मीयाम सुरु भएसँगै लेकबाट बेँसीतर्फ बसाइँ सर्ने परम्परासँग सम्बन्धित भएकाले यसलाई उभौली भनिएको मानिन्छ । उभौली पर्वमा किरात राई समुदायले प्रकृति, भूमि, जल, वनस्पति तथा पूर्वजप्रति सम्मान प्रकट गर्दै साकेला सिली नाच नाच्ने गर्दछन् । ढोल र झ्याम्टाको तालमा गोलाकार रूपमा नाचिने साकेला नृत्यले मानव जीवन, कृषि कर्म, पशुपालन, चराचुरुङ्गी तथा प्रकृतिसँगको सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने गर्दछ । पछिल्लो समय आधुनिक जीवनशैलीका कारण परम्परागत संस्कृतिमा असर पर्न थालेपछि किरात समुदायले यस्ता सांस्कृतिक कार्यक्रममार्फत आफ्नो भाषा, धर्म, संस्कार र पहिचानलाई जोगाउने प्रयासलाई थप सशक्त बनाउँदै आएका छन् ।
