क्वारेन्टाइन चेक नगरी ल्याइएको माछा शसस्त्र प्रहरीद्वारा नष्ट

धरान । प्राणीजन्य वस्तु नेपाल भित्र्याउँदा अनिवार्य गरिने क्वारेनटाइन जाँचको प्रमाणपत्रबिनै धरान भित्रिन लागेकोे ९० केजी बराबरको माछा सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत सुरक्षा बेस धरानको गस्ती टोलीले बिहीबार बिहान करिब ४ः३० बजे धरान–८ स्थित सेउती खोला पुल क्षेत्रमा चेक प्वाइन्ट स्थापना गरी सवारी जाँच गर्ने क्रममा सार्वजनिक बसमार्फत ल्याइँदै गरिएको ‘रहूँ’ प्रजातिको माछा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका डिएसपी भुवन अर्यालका अनुसार क्वारेनटाइन जाँच नगरी ल्याइएको अन्दाजी २७ हजार रुपैयाँ बराबरको माछा बरामद गरिएको हो । बरामद गरिएको माछालाई सशस्त्र प्रहरी बलको कार्यालय परिसरमा ल्याई स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले, सञ्चारकर्मीकोे रोहबरमा खाल्डो खनीे नष्ट गरिएको डिएसपी अर्यालले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले क्वारेनटाइन जाँचबिनाका प्राणीजन्य वस्तु ओसारपसारले जनस्वास्थ्य तथा पशुजन्य रोग संक्रमणको जोखिम बढाउन सक्ने भएकाले यस्ता गतिविधिमाथि निगरानी कडा पारिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया