धरान । समुदायमा स्वास्थ्यको पहुच सहज रुपमा पुगोस् भन्ने अभिप्रायले धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाको आयोजनामा धरानका सबै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई दिने अभिमुखी कार्यक्रमको आयोजना गरिएको छ । यसले जनस्वास्थ्यमा प्रत्यक्ष सुधार हुने अपेक्षा लिइएको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममार्फत धरानका २० वटै वडाका धारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई समुदायस्तरमै रोग पहिचान र प्रतिवेदन प्रणालीबारे प्रशिक्षण प्रदान गरिएको हो । तालिमको मुख्य उद्देश्य समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँचलाई प्रभावकारी बनाउनुका साथै सम्भावित महामारी तथा संक्रामक रोगलाई सुरुवाती चरणमै पहिचान गरी नियन्त्रण गर्नु रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो सहरीकरण तथा बदलिँदो जीवनशैलीसँगै नयाँ(नयाँ स्वास्थ्य चुनौती बढ्दै गइरहेका बेला यस्तो प्रणाली समयानुकूल र आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ । कार्यक्रममा जनस्वास्थ्य निर्देशालय धनकुटाका प्रतिनिधि आदित्यकुमार कर्ण, स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत स्मृति लुइटेल तथा सतिसकुमार ठाकुरले प्रशिक्षण दिनुभएको थियो । उहाँहरूले समुदायमा आधारित रोग निगरानी, प्रारम्भिक सूचना संकलन, महामारीको जोखिम मूल्यांकन तथा तत्काल प्रतिवेदन प्रणालीबारे स्वास्थ्यकर्मीलाई व्यावहारिक जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै जनस्वास्थ्य निर्देशानलयका प्रतिनिधि आदित्यकुमार कर्णले हालसम्मको निगरानी प्रणाली मुख्यतः अस्पताल केन्द्रित रहेको उल्लेख गर्दै अब समुदायमै पुगेर रोगको
प्रारम्भिक संकेत संकलन गरिने बताउनुभयो । अब टोल(टोलमा ज्वरो, झाडापखाला, छालासम्बन्धी समस्या वा अन्य असामान्य स्वास्थ्य लक्षण देखिएमा स्वास्थ्यकर्मीले तत्काल रिपोर्टिङ गर्ने र यसले महामारी फैलिन नदिई सुरुमै नियन्त्रण गर्न ठूलो मद्दत बताउनुभयो । कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले स्वास्थ्य नागरिकको मौलिक अधिकार भएकाले नगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वडा तहका आधारभूत स्वास्थ्य केन्द्रलाई नगरको स्वास्थ्य सुरक्षाको पहिलो आधारस्तम्भका रूपमा विकास गरिने उल्लेख गर्दै यस्तो तालिमले स्वास्थ्य सेवा जनताको घरदैलोमै पु¥याउने अभियानलाई थप बलियो बनाएको धारणा राख्नुभयो । यस्तै स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले २० वटै वडाका स्वास्थ्यकर्मीलाई विशेष रूपमा प्रशिक्षण दिइएको जानकारी दिँदै अब धरानमा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल सूचना प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । समुदायको स्वास्थ्य सुरक्षाका लागि योे टोली चौबीसै घण्टा तयारी अवस्थामा रहने पनि जानकारी दिनुभयो । तालिममा सहभागी स्वास्थ्यकर्मीहरूले आफ्नो वडामा फर्किएपछि स्थानीय समुदायसँग प्रत्यक्ष समन्वय गर्दै कुनै पनि असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने जनाइएको छ । यस कार्यक्रमले धरानको सेन्टिनेल निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै नगरको जनस्वास्थ्य सुरक्षा संयन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
