कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रोमा राखे पनि बाँगाको बाँगै भन्ने उखान नेपाली काँग्रेसको वर्तमान नेतृत्वले पुष्टि गरेको छ । सुध्रिएको काँग्रेसको नाममा अनावश्यक र पट्यारलाग्दा भाषण गर्ने नेतृत्वले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको दुई महिना बित्दा समेत संसदीय दलको नेता चयन गर्न नसक्नु विडम्बना हो । खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने निर्वाचित र समानुपातिक सांसदहरूको मत रहे पनि संसदमा प्रतिनिधित्वै नभएका पार्टी सभापतिले उनीहरूको आवाजलाई दबाउँदै आफू अनुकूलको व्यक्ति संसदीय दलको नेता बनाउने कसरमा जुट्दा जग हँसाइको अवस्था सिर्जना भएको छ । विगतमा नेपाली काँग्रेसले यस प्रकारको नियति भोग्नु परेको थिएन । सम्भव भए सर्वसम्मत, नभए खुल्ला प्रतिस्पर्धाबाटै संसदीय दलको नेता चयन गरेको थियो ।
प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवै गरी जम्मा ३८ जना सांसद छन् । मुलुकका १६५ निर्वाचन क्षेत्रमा गरी काँग्रेसले १८ स्थान मात्र विजयी हासिल गरेको थियो भने समानुपातिकतर्फबाट २० सिट प्राप्त गरेको थियो । नेपाली काँग्रेसमा विगतमा परिवारवाद भयो भनेर खरो टिप्पणी र विरोध गर्ने कथित युवा पुस्ताले समेत यसपटक परिवारवादलाई प्रश्रय दिएका छन् । कथित विशेष महाधिवेशनका नाममा नेतृत्व हत्याएर सभापतिको पगरी गुथेका व्यक्ति नै हाल गुटको राजनीति गर्न थालेका छन् । उनले आफ्ना ससुरालाई संसदीय दलको नेतामा प्रस्ताव गरे पनि विशेष महाधिवेशनमा साथ सहयोग दिएकाहरूले उनलाई साथ नदिँदा संसदीय दलको नेता चयन हुन नसकेको हो ।
संसदीय दलको नेतामा समेत परिवारवाद रोज्ने वर्तमान सभापतिबाट आगामी दिनमा काँग्रेस सुदृढ र सशक्त हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिने अवस्था देखिँदैन । संसदीय दलको नेतामा प्रत्यक्ष निर्वाचित वा पारिवारिक घेराबाट बाहिर रहेको व्यक्तिलाई बनाउनुपर्ने पार्टीभित्रका बहुमत सदस्यहरूको आवाजलाई काँग्रेसको मूल नेतृत्वले बेवास्ता गर्दै आएको छ । संसदीय दलको नेता चयन हुन सके राज्यका तर्फबाट प्राप्त सेवा सुविधामा ¥याल चुहाएर सभापतिका ससुरा बसेका छन् । नेतृत्वमा युवा पुस्ताको वर्चस्व स्थापित हुनुपर्छ भन्ने मान्यताविपरीत उमेरले नेटो काटिसकेका व्यक्ति त्यही पदका लागि कसको आड भरोसमा लम्पट भएर लागेका हुन् भन्ने कुरा बुझ्न कठिनाइ छैन । जाबो एउटा संसदीय दलको नेतामा समेत यो हदसम्मको परिवारवाद लागू हुन्छ भने आगामी दिनमा काँग्रेस कसरी सुदृढ हुन्छ ? आम निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता पाएका अन्य राजनीतिक दलहरूले एक हप्ताभित्रै आफ्नो संसदीय दलको नेता चयन गरेका थिए । तर काँग्रेस अझै रुमलिएको छ । संसदीय दलको नेता चयनका लागि नेपाली काँग्रेसभित्र यतिबेला दुई वा तीन खेमामा विभाजित भएको छ । पार्टी सभापतिको एउटा खेमा, उपसभापतिको अर्को खेमा, महामन्त्रीहरूको अर्को खेमा । विगतमा गुट–उपगुट भयो, गुट–उपगुटले काँग्रेस कमजोर भयो, गुट–उपगुटको अन्त्य गरिनुपर्छ भन्ने सभापति यतिबेला आफैं एउटा गुटको नेतृत्व गर्दै हिँड्नाले आम कार्यकर्तामा कस्तो सन्देश प्रवाह भएको छ ? पार्टीको नेतृत्व हत्याए पनि पार्टी हाँक्न सक्ने वा नेतृत्व गर्न सक्ने क्षमता सभापतिमा देखिएन । हाल आम नेपाली काँग्रेसका कार्यकर्ताहरूले पुरानो नेतृत्व सही थियो भन्ने अवस्था सिर्जना भएको छ । सस्ता र चर्का भाषणबाजीले मात्र पार्टी सञ्चालन गर्न सकिँदैन भन्ने आभास शायद वर्तमान सभापतिलाई पनि भएको हुनुपर्छ ।
