अस्पताल सञ्चालन गर्न ध्यानाकर्षण

धरान । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजले धरान उपमहानगरस्तरीय अस्पताल सञ्चालन गरी धरानका सर्वसाधारण जनतालाई स्वास्थ्योपचार उपलब्ध गराउन उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

समाजका अध्यक्ष सञ्जिवकुमार कर्ण र महासचिव संगीता कुमारी चौधरीद्वारा हस्ताक्षरित वैशाख १३ गते जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, पूर्वाञ्चलमा मात्र नभई देशकै नमूनाको रूपमा रहेको अविछिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाको रूपमा चिनिने प्रतिष्ठान सिङ्गो मुलुकलाई नै स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन स्वास्थ्योपचार सेवा, चिकित्सा शिक्षा अध्ययन, अध्यापन एवं स्वास्थ्य अनुसन्धानजस्ता महत्वपूर्ण उद्देश्यहरू परिपूर्तिको कार्यमा अग्रणी भूमिमा रहेको छ । प्रतिष्ठानको विकास निर्माणलाई अझै गति प्रदान गर्न प्रतिष्ठानको स्रोत साधनहरूको अधिकतम र प्रभावकारी प्रयोग हुनुपर्ने समाजको धारणा छ । यस सन्दर्भमा प्रतिष्ठानको स्वामित्वमा रहेको धरान बजारको छाताचोकस्थित जग्गामा प्रतिष्ठानले आफ्नै अस्पताल सञ्चालन गरी सेवा प्रवाह गर्नु पर्ने ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया