धरान । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा एकै दिन भएका सवारी दुर्घटनाहरूमा कम्तीमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । अधिकांश दुर्घटनामा मोटरसाइकल (मोसा) संलग्न रहेका छन् भने तिव्रगति, चालकको लापरबाही र पैदलयात्रीको असावधानी प्रमुख कारणका रूपमा देखिएका छन् ।
सुनसरी जिल्लामा मात्रै धेरै दुर्घटना भएका छन् । बर्जु गाउँपालिका–५ स्थित हुलाकी राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा ७२ वर्षीया धनमाया खड्का सामान्य घाइते भइन् । त्यस्तै, इनरुवा र आसपासका क्षेत्रमा भएका छुट्टाछुट्टै दुर्घटनामा पैदलयात्री, मोटरसाइकल चालक तथा सवार गरी केही व्यक्ति घाइते भएका छन् । इटहरीमा सिटी सफारी अनियन्त्रित हुँदा आमा–छोरी घाइते भएका छन् भने अन्य स्थानमा पनि मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएका छन् ।

संखुवासभाको चैनपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा ६५ वर्षीया महिलाको अवस्था गम्भीर बनेको छ । उनलाई प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ टाउकोमा गम्भीर चोट लागेको पुष्टि भएको छ । मोरङ जिल्लामा पनि दुर्घटनाको संख्या उच्च देखिएको छ । बुढीगंगा क्षेत्रमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई चालक घाइते भएका छन् भने धनपालथानमा एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका छन् । झापा जिल्लामा मोटरसाइकलबाट लडेर एक बालक घाइते भएका छन् भने शिवसताक्षीमा स्कुटर अनियन्त्रित हुँदा चालक घाइते भएका छन् । यसैबीच ताप्लेजुङमा ट्रक दुर्घटना भए पनि मानविय क्षति भने भएको छैन । प्रहरीका अनुसार अधिकांश दुर्घटनामा मापसे (मद्यपान) पुष्टि नभए पनि तिव्र गति, चालकको असावधानी तथा पैदलयात्रीले अचानक बाटो काट्दा दुर्घटना भएको निष्कर्ष निकालिएको छ । सुरक्षा निकायले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, सवारी साधनको अवस्था जाँच गर्न तथा पैदलयात्रीलाई सडक पार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
