धरान । कोशी प्रदेशको हिमाली जिल्ला सोलुखुम्बुको सल्लेरी बजारमा दुई दिने कला–साहित्य यात्राको मैझारो भएको छ । नेपाली कला साहित्य डटकमको आयोजनामा वैशाख ३ र ४ गते १९ औं श्रृंखलाको यात्रा सम्पन्न भएको हो । हरेक वर्ष भिन्न भिन्न स्थानमा साहित्यिक यात्राको आयोजना गर्दै आएको साहित्यिक डटकमले यस पटक सल्लेरीलाई छनौट गरेको थियो । यात्राको दोस्रो दिन साहित्यिक डटकमले योगेश्वर वाङ्मय पुरस्कार रुकुमका साहित्यिक स्रष्टा पूर्ण ओली र ग्रेगरी कला संस्कृति पुरस्कार सोलुखुम्बकै मनुहाङ किराँतीलाई प्रदान गरिएको थियो ।

ती दुवै पुरस्कारको राशि क्रमशः २५ हजार र २० हजार रहेको छ । संस्थाकी अध्यक्ष मेमिला जोशीको अध्यक्षतामा भएको उक्त कार्यक्रमका बारेमा समालोचक महेश पौड्यालले प्रकाश पार्नुभएको थियो । नेपालका पूर्व मुख्य सचिव एवं साहित्यकार विमल कौइरालाले नेपालमा वर्तमान साहित्यको अवस्थाका सम्बन्धमा जानकारी गराउनु भएको थियो भने साहित्यकारहरू कुमारी लामा, मुकुन्द प्रयास, लक्ष्मण गाम्नाङ्गे, तुलसीहरि कोइराला, लक्ष्मी रुम्बा, चन्द्र गुरुङ, डा. कृष्णराज डिसी, मणि लोहनी, जयदेव भट्टराई,
राजेश्वर कार्की, शम्भु निशब्द, उत्तरकुमार राई, मनुहाङ किराती, वीरेन्द्र ग्यावा तामाङ, सुस्मा बस्नेत, महेन्द्रदीप राई, सुभाष संगम राईले कविता पाठ गर्नुभएको थियो । ‘मेरो राष्ट्र मेरो ध्येय’ भन्ने नाराका साथ साहित्यिक यात्रा गरेको आयोजकले सल्लेरीको कार्यक्रममा स्थानीय नवयुग साहित्य कला सेवा समाजसँग सहकार्य गरेको थियो ।
