सुनसरीको इटहरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । गत वैशाख १ गते बिहान करिब ८ बजे इटहरी उपमहानगरपालिका–६ धरान स्टेण्ड क्षेत्रमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी चेकिङ टोलीले शंकास्पद रूपमा पैदल हिँडिरहेका भोजपुर नगरपालिका–७ निवासी २१ वर्षीय युजिन श्रेष्ठलाई जाँच गरेको थियो ।

जाँचका क्रममा उनको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ८० क्याप्सुल, स्पास्मो–प्रोक्सिभोन १ हजार ५ सय ९० ट्याब्लेट तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ १.३३ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उक्त लागूऔषधसहित पक्राउ परेका श्रेष्ठलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरीले लागूऔषध नियन्त्रणका लागि चेकजाँचलाई अझ कडाइ गर्दै जाने जनाएको छ ।
