धरान । भारतको विख्यात गायिका एवं कालजयी आवाजकी धनी आशा भोषलेको आइतबार ९२ वर्षको उमेरमा महाराष्ट्रस्थित मुम्बईमा निधन भएको छ ।
सन् १९३३ मा भारतको सांगलीमा जन्मनु भएकी भोषलेले दर्जनौं नेपाली गीतहरू गाउनु भएको छ । उहाँ हिन्दी चलचित्रकी प्रसिद्ध पाश्र्व गायिका हुनुहुन्थ्यो । विश्व प्रसिद्ध गायिका लता मंगेशकरकी बहिनी आशा भोषलेले चलचित्र र गैर चलचित्रमा गरी १६ हजारभन्दा बढी गीत गाउनु भएको छ । उहाँको आवाजका प्रशंसक संसारभरि फैलिएका छन् । उहाँले शास्त्रीय संगीत, गजल र पप क्षेत्रमा आफ्नो आवाजको जादु मात्र बाँडेकी छैनन्, सबैमा समान सफलता समेत पाएकी छन् । उहाँले नेपाली संगीत क्षेत्रमा ‘किन बढ्दैछ ढुकढुकी मुटुको’, ‘साउने झरिमा’, ‘माया त माया हो’, ‘टाढा नजाउ फेरि’, ‘पहाडको माथि माथि’, ‘को होला मेरो मायालु’, ‘यति धेरै माया दियौ’, ‘गैरी खेतको शीरै हान्यो’, ‘आज हाम्रो भेट भएको दिन’, ‘बसन्त नै बस्न खोज्छ यहाँ’, ‘एउटा मान्छे मन पर्छ’, ‘मोहनी लाग्ला है’ जस्ता अनगिन्ती गीतहरू गाउनु भएको छ । स्वर्गीय भोषलेको निधनप्रति नेपाली चलचित्र, गायक, गायिकाहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उहाँको आवाजबाट मन्त्रमुग्ध भएकाहरूले सामाजिक सञ्जालमार्फत लाखौंले अत्यन्तै दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यसैबीच नेपालस्थित भारतीय राजदूतावासले आइतबार भोषलेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेको छ । दूतावासले एक समवेदना वक्तव्य जारी गर्दै कालजयी आवाज र असाधारण सांगीतिक यात्राले हाम्रो सांस्कृतिक सम्पदालाई समृद्ध बनाउनुका साथै नेपाल लगायत विश्वभरका लाखौंलाई स्तब्ध बनायो । उहाँले अनगिन्ती नेपाली गीतहरू गाउनु भएको छ । यसले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ, शोक वक्तव्यमा भनिएको छ ।
