धरान । धरानमा नगर अस्पताल निर्माणको विषय अझै अन्योलमै रहँदा स्वास्थ्य बीमा सम्बन्धी नयाँ प्रावधानले स्थानीय बासिन्दा थप मर्कामा परेका छन । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा धरानेहरुले मन्त्री समक्ष यही कुरालाई प्राथमिकताका साथ राखेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गतको बीमा बोर्डले करिब एक वर्षअघि प्रतिष्ठानलाई ‘प्रथम सेवा विन्दु’ बाट हटाउँदै मान्यताप्राप्त सरकारी अस्पताललाई पहिलो विन्दु मानेर मात्रै प्रतिष्ठानलाई रिफरल सेन्टरको रुपमा मान्यता प्रदान गरेपछि बीमाधारी नागरिकहरूलाई प्रत्यक्ष असर पारेको छ । स्थानीय स्तरमै सरकारी अस्पताल नहुँदा सेवाग्राहीहरूले अन्यत्रको सरकारी अस्पतालबाट प्रतिष्ठानमा रेफर गर्नुपर्ने झन्झिटिलो प्रक्रिया अपाउनुपर्ने बाध्यता थियो । धरान उपमहानगरपालिकामा नगर अस्पताल सञ्चालनको बहस निवर्तमान मेयर हर्कराज राईको कार्यकालदेखि सुरु भएको हो । हाल कार्यवाहक मेयर अइन्दविक्रम बेघा को नेतृत्वमा पनि यो विषयले ठोस निर्णय पाउन सकेको छैन । यसले गर्दा स्थानीय तहको स्वास्थ्य सेवा सुदृढीकरणको योजना कागजमै सीमित बनेको छ । छाताचौकस्थित प्रतिष्ठानको जग्गामा नगर अस्पताल सञ्चालन गर्ने प्रस्तावबारे पनि मन्त्रीस्तरमै छलफल भएको थियो । तर, जग्गाको स्वामित्व, व्यवस्थापन मोडालिटी तथा कानुनी प्रक्रियाका कारण विषय अझै निष्कर्षमा पुग्न सकेको छैन ।
राष्टिूय स्वतन्त्र पार्टीकी नेतृ सरिन तामाङले धरानका नागरिकले भोगिरहेको स्वास्थ्य सेवाको समस्या समाधानका लागि नगर अस्पतालको काम शीघ्र अघि बढाउनुपर्ने बताउनुभयो ।

समाजसेवी प्रा.डा.राजेन्द्र शर्माले छाताचौकस्थित प्रतिष्ठानकै जग्गामा नगर अस्पताल निर्माण गर्नु सबैभन्दा व्यवहारिक विकल्प हुने मन्त्री समक्ष माग राख्नुभयो । यसले बीमा सेवाबाट वञ्चित हुनुपरेका बिरामीलाई तत्काल राहत दिने उहाँको भनाइ छ । प्रतिष्ठानका उपकुलपति विक्रम प्रधानले सरकार र उपमहानगरपालिकासँग सहकार्य गरी आवश्यक पूर्वाधार उपयोग गर्न प्रतिष्ठान सकारात्मक रहेको संकेत गर्नुभयो । धरानमा नगर अस्पताल नहुँदा स्वास्थ्य सेवा पहुँचमा देखिएको समस्या झन् जटिल बन्दै गएको छ । बीमा प्रावधान, पूर्वाधार अभाव र नीतिगत अन्योलबीच नागरिकले सास्ती भोगिरहेका छन ्। यस अवस्थामा सरोकारवाला निकायहरूबीच सहकार्य गर्दै शीघ्र निर्णय लिनु नै अहिलेको प्रमुख आवश्यकता बनेको छ । मन्त्री मेहताले सो अवसरमा आफू यस विषयमा सकारात्मक रहेको बताउनुभएको थियो । यसैबीच मन्त्री मेहताले प्रतिष्ठानको आकस्मिक कक्ष (इमर्जेन्सी) पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले बिरामी तथा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै उपचारमा देखिएका समस्या, भीड व्यवस्थापन र सेवा गुणस्तर सुधारका पक्षमा चासो राख्नुभएको थियो । धरानमा नगर अस्पतालको बहस चुलिएको बेला मन्त्रीको आगमनलाई सर्वसाधारणले महत्वका साथ हेरेका छन् । नगर अस्पताल नभएरै उपचारबाट बञ्चित हुने अवस्थाबाट मुक्त हुने अपेक्षा सर्वसाधारणले लिएका छन् ।
