जेनजी आन्दोलन आयोगको प्रतिवेदनको आधारमा वर्तमान दुई तिहाइ निकटको सरकारले दोषी औँल्याएका पूर्व मन्त्री, प्रधानमन्त्री तथा संलग्नहरूमाथि धरपकड, गिराÏतार अभियान अगाडि बढाएको छ । सरकारले पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली, नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत सोही दिन गिराÏतार गरिसकेको छ । ओलीलाई शनिवार बिहान र लेखकलाई समेत सोही दिन पक्राउ गरेको थियो । प्रतिवेदनले दोषी ठहर गरेकाहरूको खोजीलाई सरकारले तीव्र बनाएको छ । एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीको गिराÏतारी पश्चात एमालेको सिंगो पार्टी पंक्ति शनिवारदेखि नै आन्दोलनमा उत्रिएका छन् । उसका भ्रातृ संगठनहरूले देशका विभिन्न स्थानमा आन्दोलन अगाडि बढाएका छन् । राजधानीका विभिन्न स्थानमा उनीहरूले सडकमा टायर बाल्ने, सरकारका विरुद्ध नाराबाजी गर्ने कार्यलाई तीव्रता दिएका छन् । विगतमा जेनजी आन्दोलनको आवरणमा वर्तमान सरकारका समर्थक, हाल निर्वाचित अधिकांश सांसदहरूले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, राष्ट्रपति भवन जलाउने, व्यक्तिका घर जलाउने, आन्दोलनको नेतृत्व गर्ने, हजारौँ कैदीहरू भगाउने जुन कार्य गरेका थिए, सोही शैलीमा एमालेका कार्यकर्ताहरू आक्रामक रूपमा प्रस्तुत भएका छन् । शनिवार आन्दोलनमा केही ओलीको रिहाइको माग राख्दै उत्रिएकाहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए । तर उनीहरूलाई सुरक्षाकर्मीहरूले रोकेको थियो । तर आन्दोलनकारीहरू र सुरक्षाकर्मीहरू बीचमा ठाउँ–ठाउँमा झडप भएको थियो । परिस्थितिलाई आँकलन गर्दै गृहमन्त्रीले देशभरिका प्रहरीहरूलाई बिदा नदिन, उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । ओलीको रिहाइका लागि सिंगो पार्टी पंक्ति नै सडक आन्दोलनमा उत्रिँदा नेपाली काँग्रेसको वर्तमान नेतृत्वले आफ्ना नेता रमेश लेखकको गिराÏतारीको विरोधमा एउटा वक्तव्य समेत निकाल्ने ल्याकत राखिएको देखिएन । काँग्रेसका कथित सभापतिले काँग्रेस कुनै प्रकारको विरोध, आन्दोलनमा नजाने जनाएका छन् भने उनको भनाइलाई समर्थन गर्दै उपसभापतिले काँग्रेस लोकतन्त्र, विधिको शासन मान्ने भएकोले लेखकको रिहाइका लागि सडकमा नजाने घोषणा गरेका छन् । आफ्ना नेता पक्राउपछि सामान्य विरोधसम्म गर्न नसक्ने ल्याकतमा नेपाली काँग्रेस पुगेको देखियो । भोलिका दिनमा प्रतिशोधपूर्ण राजनीतिबाट प्रेरित भएर काँग्रेसका अन्य नेता, कार्यकर्ताको धरपकड भएमा काँग्रेस यथास्थितिमै रहने प्रष्ट देखियो । यसो हो भने अबका दिनमा काँग्रेस अँठ्याएर कार्यकर्ता किन बस्ने ? किन काँग्रेसका कार्यकर्ता हुने ? किन साधारण सदस्य लिने, किन सक्रिय सदस्यता नवीकरण गर्ने ? हो, दोषीमाथि राज्यले कानुनसम्मत प्रक्रियागत ढंगले कारबाही गर्नुपर्छ । न्यायको सिद्धान्त पनि यही हो । तर बुढी मरी भन्ने भन्दा पनि काल पल्केला भन्ने चिन्ता बढ्दै गएको छ । पूर्वाग्रही भएर कसैमाथि डण्डा चलाउनु किमार्थ शोभनीय हुँदैन । कानुन सबैका लागि बराबर हुनुपर्छ । भोलिका दिनमा काँग्रेसका सभापतिमाथि नै डण्डा चल्न सक्छ । उनी पनि दूधले नुहाएका अवश्यै छैनन् । त्यसबेला आम कार्यकर्ताले उनीमाथि चण्डा चलाउँदा मौन भएर बस्नेछन् । वर्तमानको काँग्रेस नेतृत्व शैलीले यही कुराको संकेत गरेको छ ।
