ङाङगुर ञिङमा ड्युग्ने ल्हाखाङ गुम्बामा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक लगायत सामग्रीको अभाव झेल्दै

धरान । नेपाल सरकारबाट स्वीकृति प्राप्त, बौद्ध शिक्षा अध्यापनका लागि स्थापित धरान–१५ श्यामचोकस्थित धार्मिक विद्यालय ङाङगुर ञिङमा ड्युग्ने ल्हाखाङ गुम्बामा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक लगायतका सामग्रीको अभाव झेल्नु परेको छ । आजभन्दा झण्डै २४ वर्षअघि अर्थात् वि.सं. २०५८ सालमा स्थानीय बौद्ध धर्मावलम्बीहरू, बौद्ध शिक्षाप्रेमी, धरानभन्दा बाहिर रहनु भएका बौद्धमार्गीहरूको सक्रियतामा स्थापना भएको उक्त गुम्बामा हाल ३४ जना नानीहरू अध्ययनरत रहेका छन् । गुम्बा सञ्चालक समितिका अध्यक्ष लोकबहादुर थिङका अनुसार गुम्बा निर्माण, गुम्बामा अध्ययनरत नानीहरूका सम्पूर्ण शैक्षिक सामग्रीहरू जसोतसो मुस्किलले दाताहरूकै सहयोगमा चल्दै आएको छ । नेपाल सरकारको मापदण्ड अनुरूप आवासीय विद्यालयको रूपमा सञ्चालन हुँदै आएको गुम्बालाई राज्यले अनुदान दिनुपर्ने हो तर हालसम्म राज्यका तीनवटै अंग स्थानीय, प्रदेश र संघबाट कुनै प्रकारको सहयोग प्राप्त भएको छैन, अध्यक्ष थिङले भन्नुभयो । उहाँले भन्नुभयो झारा टार्ने हिसाबले गुम्बा अवलोकन, विद्यालयको अवस्था, विद्यार्थीहरूको स्थिति बुझ्न कोशी प्रदेश सरकार तथा सरोकारवाला यदाकदा आए पनि सहयोग भने कहीँकतैबाट प्राप्त भएको छैन, उहाँको गुनासो थियो । वि.सं. २०५८ सालमा गुम्बा र शिक्षालय स्थापनाका लागि स्थानीय दाताले १ कट्ठा जग्गा उपलब्ध गराएको र पछि सञ्चालक समितिकै पहलमा स्रोतको व्यवस्थापन गरी पुनः १७ धुर खरिद गरी संरचना निर्माण गर्न थालिए पनि हालसम्म सम्पन्न हुन नसकेको अध्यक्ष थिङले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई निःशुल्क आवासीय शिक्षा
ङाङगुर ञिङमा ड्युग्ने ल्हाखाङ गुम्बामा विद्यार्थीहरू सबैले निःशुल्क आवासीय शिक्षा प्राप्त गरिरहेका छन् । कक्षा ५ सम्मको शिक्षा यहाँबाट लिएपछि थप उच्च शिक्षा अध्ययनका लागि गुम्बाले काठमाडौंका गुम्बाहरूमा पठाउने गर्छ । अध्यक्ष थिङ भन्नुहुन्छ हाम्रो स्रोत–साधनको सुनिश्चितता छैन । सुरु गरिहाल्यौँ । छोड्न पनि मिलेन । विद्यार्थीहरूका शैक्षिक सामग्रीहरू जस्तै पुस्तक, कापी, कलम, कपडा, खाना सबै हामीले उपलब्ध गराउँदै आएका छौँ । यहाँ अध्ययनरत विद्यार्थीहरू धरानका मात्र हुनुहुन्छ कि अन्यत्रबाट समेत आएका छन् त भन्ने सवालमा उहाँले भन्नुभयो धरानसँगै अन्यत्रका विद्यार्थी समेत
छन् । संख्याको हिसाबले धरानका विद्यार्थीहरू ज्यादा भए पनि भोजपुर, खोटाङ, ओखलढुंगा, धनकुटा, पाँचथर, ताप्लेजुङ, इलाम, मोरङ, झापा,
उदयपुरका विद्यार्थीहरू समेत छन् । गुम्बाले खास गरेर टुहुरा विद्यार्थी, असहायहरूलाई यसका लागि प्राथमिकतामा राखेको छ । दीगो आर्थिक स्रोतको अभावमा यत्तिका विद्यार्थीहरूलाई निःशुल्क आवासीय शिक्षा प्रदान गर्नु चानचुने कुरा होइन ।
स्रोतको व्यवस्थापन कसरी हुँदैछ ?


अनुशासित समाज निर्माणमा आफ्नो तर्फबाट योगदान गरौँ भन्ने उद्देश्यले निःशुल्क बौद्ध आवासीय शिक्षाका लागि सक्रिय रहेका गुम्बामा विद्यार्थी संख्याको अनुपातमा यथेष्ट मात्रामा सुत्ने ठाउँ, लत्ता–कपडा लगायतको उचित व्यवस्थापन हुन सकेको छैन । अध्यक्ष थिङ भन्नुहुन्छ हालसम्म हामीले कार्यसमिति, आजीवन सदस्य र साधारण सदस्यबाटै मासिक रूपमा आर्थिक संकलन गरेर यसको व्यवस्थापन गर्दै आएका छौँ । सञ्चालक समिति ४० जनाको रहेको छ भने आजीवन सदस्य र साधारण सदस्य गरी कुल ५ सय जना हुनुहुन्छ । हामीबीचबाट संकलन भएको स्रोतबाट नपुगेपछि काठमाडौंतिर बस्नु भएका बौद्धमार्गी, दाताहरूलाई सहयोगका लागि आग्रह गर्छौँ । कसैलाई कपडा सहयोग गर भन्छौँ, कसैलाई राशन सहयोग मागेर चलाएका छौँ, कसैसँग भवन निर्माणका लागि सहयोग मागेका छौँ । काठमाडौंका एक जना दाताले दुई वर्षका लागि खाद्यान्न सहयोग गर्नुभएको छ । कसैले शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । विदेशमा रहनु भएका दाताहरूले पनि आर्थिक सहयोग गर्नुभएको छ । सहयोगकै भरमा गुम्बाको गतिविधि र शिक्षा अगाडि बढेको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले अनिवार्य बौद्ध शिक्षा, नेपाल सरकारले निर्धारण गरेको अंग्रेजी, हिसाब, सामाजिक जस्ता शिक्षा अन्य विद्यालयकै सरह पाठ्यक्रम अनुसार अध्यापन गराइँदै आएको छ ।
शिक्षकहरूको व्यवस्थापन
गुम्बामा समय–समयमा ठूला–ठूला बौद्ध गुरु, रिम्पोचेहरूको आवासीय आगमन हुने गरेको छ । उनीहरूको स्वागत तथा व्यवस्थापन गुम्बाले नै गर्नुपर्छ । बौद्ध गुरु तथा रिम्पोचेहरूको बासोबासका लागि हाल गुम्बाले छुट्टै कक्षको व्यवस्था गरेको छ । ठूला गुरु तथा रिम्पोचेहरूसँगै आउनु हुने गुरुहरूले विद्यार्थीहरूलाई बौद्ध शिक्षा दिँदै आउनु भएको छ । यसका निम्ति गुम्बाले उहाँहरूको पारिश्रमिकको व्यवस्था गर्नुपर्छ होला नि त भन्ने जिज्ञासामा सञ्चालक समितिका अध्यक्ष थिङले भन्नुभयो—कोही–कोही गुरुहरू पारिश्रमिकको कुरा गर्नु हुन्छ । तर हामी भन्छौँ यो पुण्य कार्यका लागि पारिश्रमिक होइन, योगदान गरिदिनुस् । शिक्षा दिनुजस्तो ठूलो कार्य अरू हुन सक्दैन भन्छौँ । उहाँहरू पनि मानिदिनुहुन्छ । यसैगरी शिक्षकहरूको व्यवस्थापन हुँदै आएको छ ।
सरकारले दरबन्दी दिएको छैन
निःशुल्क रूपमा शैक्षिक योगदान दिँदै आएको ङारगुर ञिङमा ड्युग्ने ल्हाखाङ गुम्बालाई नेपाल सरकारले हालसम्म शिक्षकको दरबन्दी दिएको छैन । नेपाल सरकारको शैक्षिक मापदण्ड अनुरूप कक्षा ५ सम्मको विद्यालय सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिए पनि शिक्षक दरबन्दी नदिँदा विद्यालयले असहजता महसुस गरेको छ । शिक्षक दरबन्दी किन उपलब्ध नगराएको छ भन्ने जिज्ञासामा सञ्चालक समितिका अध्यक्ष थिङ भन्नुहुन्छ—धार्मिक विद्यालय भन्छन् । धार्मिक विद्यालयमा शिक्षक दरबन्दी दिन मिल्दैन भन्छन् । हुन त शिक्षा समितिमा म पनि छु । यसका लागि मैले धेरै पहल गरेँ । शिक्षा कार्यालयले केही मात्र आर्थिक सहयोगचाहिँ गरेको छ । उसले वार्षिक २ लाख ४० हजार अनुदान उपलब्ध गराउँछ । यसबाट नानीहरूलाई खान–पिन गराउने कि, लत्ता–कपडा हालिदिने कि, के गर्ने ? हात्तीको मुखमा जीरा जस्तो हुन्छ । शिक्षकलाई तलब दिने कुरा त परैको भयो । अनि प्रदेश
सरकार, केन्द्र सरकारले उपलब्ध गराउँदैन त भन्ने सवालमा उहाँले भन्नुभयो—मंसिर पूर्णिमामा गुरु छेन्गे थाम कार्यक्रम गरिन्छ । सहयोग उपलब्ध हुन्छ कि भनेर प्रदेशका मन्त्रीहरूलाई बोलाएर भव्य स्वागत गर्दै उद्घाटन गराउँछौँ । गुरु छेन्गे थामका लागि हामी आफैले स्रोत–साधन जुटाएर ५०–६० लाखको सामान खरिद गरेका छौँ । तर प्रदेश सरकारले कुनै सहयोग उपलब्ध गराएको छैन । केन्द्र सरकारले त झन् सहयोग गरेकै छैन । सोर्स–फोर्स पुग्यो भने ५–७ लाख देला तर हाम्रो सोर्स पुग्दैन । स्थानीय सरकारले समेत हालसम्म कुनै सहयोग गरेको छैन । कमसेकम स्थानीय सरकारले वार्षिक रूपमा केही सहयोग उपलब्ध गराएर सञ्चालन गर्न सहज हुने थियो ।
के–के छन् आगामी योजना ?
गुम्बामा बग्रेल्ती समस्या भए पनि स्रोत–साधनको अभावले सबै कामहरू बीचमै रोकिएका छन् । अध्यक्ष थिङ भन्नुहुन्छ तत्कालको हाम्रो आवश्यकता भनेको भवन थप गर्नुपर्ने छ । पाँच तलासम्मको डिजाइन गरेर बनाएको भवन हालसम्म दुई तलासम्म मात्र उठाउन सकेका छौँ । यसका लागि स्रोतकै आवश्यकता पर्छ । जेनेतेन यतिसम्म गरेका छौँ । गुम्बाको दक्षिणतर्फ रहेको खाली जग्गामा तल्लो तला खाली राखेर माथि मात्र उठाएर स्कुल बनाउनुपर्ने छ । हाल बनेको भवनको दोस्रो तलामा गुरुहरू राख्ने, अफिस राख्नका लागि काम गर्नुपर्ने थियो । तर काम अगाडि बढ्न सकेको छैन । थुप्रै काम गर्नुपर्नेछ । यसका लागि ४ देखि ५ करोड रुपैयाँ आवश्यक पर्छ । गुम्बामा धेरै सामान अपुग भएको छ, त्यो पनि थप्नुपर्ने छ । यसका लागि दाताहरूले सहयोग गरे होला, नत्र गाह्रो छ, उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया