धरान । धरान खानेपानी व्यवस्थापन बोर्डको पारदर्शिता र पानीको स्रोतको सुक्ष्म अध्ययनसँगै आपूर्ति व्यवस्थापनमा ध्यान दिएकै कारण यस बर्ष सुख्खा मौसममा समेत धरानेहरुले खानेपानीको समस्या झेल्नु परेन । विगतका बर्षहरुमा सुख्खा मौसममा खानेपानीको आपूर्तिका लागि भौतारिनु पर्ने अवस्थाबाट यस बर्ष धरानेहरु मुक्त भएका हुन्् । धरान खानेपानी व्यवस्थापन बोर्डले पारदर्शितालाई प्राथमिकतामा राख्दै फागुन महिनाको आय–व्यय विवरण तथा पानीको स्रोतको वर्तमान अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले सार्वजनिक गर्नुभएको तथ्यांकले संस्थाको आर्थिक तथा प्राविधिक अवस्था सन्तोषजनक रहेको देखाएको छ । सार्वजनिक विवरणअनुसार फागुन महिनामा बोर्डले विभिन्न काउन्टर तथा डिजिटल माध्यममार्फत रु १ करोड ४१ लाख ४० हजार ३ सय ३१ आम्दानी गरेको छ । अघिल्लो महिनाको मौज्दात रु १ करोड ८२ लाख ११ हजार ६ सय ८२ जोडिँदा कुल मौज्दात रु ३ करोड २३ लाख ५२ हजार १४ पुगेको थियो ।

खर्चतर्फ भने सोही अवधिमा कुल रु १ करोड ५२ लाख ३७ हजार ७ सय ५ खर्च भएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा कर्मचारी तलब (३१ लाख ७५ हजार), विद्युत महसुल (३८ लाख ८७ हजार) र फिटिङ सामग्री खरिद (२९ लाख ८२ हजार) मा खर्च भएको विवरणमा उल्लेख छ । हाल बोर्डको बैंक मौज्दात रु १ करोड ७१ लाख १४ हजार ३ सय ९ कायम रहेको अध्यक्ष बेघाले जानकारी दिनु भएको छ । पानी उत्पादनतर्फ पनि बोर्डले उत्साहजनक प्रगति देखाएको छ । हाल धरानमा दैनिक कुल २ करोड ४३ लाख ५० हजार लिटर पानी उत्पादन भइरहेको छ, जसमा भुमिगत स्रोतको योगदान प्रमुख रहेको छ । चारकोसे, उदय वन तथा प्रदेश सरकारद्वारा निर्माण गरिएका वेलमार्फत दैनिक १ करोड ८२ लाख लिटर पानी उत्पादन भइरहेको छ । यसैगरी सर्दु, खर्दु, निशाने, कोकाहा र पकुवा लगायतका सतह स्रोतबाट दैनिक ६१ लाख ५० हजार लिटर पानी संकलन भइरहेको छ । पछिल्लो समय कोकाहा खोलाबाट दैनिक १० लाख लिटर र निशाने खोलाबाट १ लाख लिटर पानी थप गरिएकाले सुक्खा मौसममा आपूर्ति व्यवस्थापनमा सहजता आएको बोडका अध्यक्ष बेघाले जानकारी दिनुभयो । बोर्डले धरानवासीलाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने प्रतिबद्धता दोहो¥याउँदै आय(व्ययमा पारदर्शिता र स्रोतको प्रभावकारी व्यवस्थापनलाई नै प्राथमिकता दिएको छ । जसका कारण यस बर्ष सुख्खा मौसममा पनि धरानेहरुले पानीको अभावका कारण समस्या झेल्नु
परेन ।
