हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नराम्रोसँग पराजित भएका नेपाली काँग्रेसका सभापतिको पछिल्लो नाटकको पर्दाफास भएको छ । मूल नेतृत्वले आफूसँगै आफ्ना अन्य उम्मेदवारहरुलाई विजयी गराउन अहम भूमिका निर्वाह गर्नुपर्छ । तर यसपटकको निर्वाचनमा मुख्य नेतृत्व नै नराम्रोसँग पराजित भएपछि नेतृत्वको सक्षमतामाथि प्रश्न उठेको छ । प्रश्न उठ्नु पनि स्वाभाविक हो । देशभरिका इमान्दार कार्यकर्ताहरुले सभापतिको सक्षमताप्रति प्रश्न उठाएपछि सुनियोजित रूपमा तत्काललाई झारा टार्न कथित सभापतिबाट राजीनामाको नाटक मञ्चन गरियो । अवैध विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरुबीचमा राजीनामा स्वीकृत नगराउने सर्तमा सभापतिले राजीनामाको पासा फाले । अन्त्यमा त्यही भयो, ४८ घण्टा नबित्दै उनको
राजीनामा अस्वीकृतको घोषणा गरियो । विद्यार्थी राजनीतिबाट आएका उच्च पदीय आकांक्षा भएका काँग्रेस सभापतिले आफ्नो स्वार्थभन्दा बाहेक कहिल्यै पार्टी र मुलुकको समृद्धिका लागि बोलेको सुनिएन । हावा न चवाका तर्फ पेश गरेर ठूला–ठूला स्वरमा संसद र राजनीतिक मञ्चहरुमा चिच्याउने बाहेक उनको अर्को पहिचान देखिएन । यसका लागि विगतमा उनले संसदमा बोलेका कुराले दृष्टान्तहरु पुष्टि गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सहकारी ठग नै हुन्, हामीसँग पर्याप्त प्रमाण छन् भनेर उनले संसदमा केही कागजातहरु हातमा लिएर हल्लाएका थिए । रास्वपाका सभापति सहकारी ठग हुन् वा होइनन् भन्ने कुरा दस्तावेजी प्रमाण हो भन्दै हल्लाउँदैमा उनले आफ्नो शाख बढेको महसुस गरे । यति मात्र होइन, विगतमा एमसीसी नेपाल र नेपालीको हितमा छैन, संसदबाट एमसीसी पास गरिनु हुँदैन भनेर देशव्यापी रूपमा विभिन्न राजनीतिक समूह, सामाजिक संघसंस्था, नागरिक अगुवा, सामाजिक अभियन्ता, विद्यार्थी संगठनहरुले आन्दोलन गरेका थिए । क्षणिक रूपमा ती आन्दोलनका आवाजहरुलाई क्यास गर्न उनी अगाडि सरे । उनलाई हेक्का छ या छैन, संसदमा उनले एमसीसी कुनै पनि हालतमा पास हुँदैन, पास भएमा मलाई चारपाटा मुडेर थानकोट कटाउनु भन्ने अभिव्यक्ति बडो गौरवका साथ दिएका थिए । तर एमसीसी पास गर्ने सवालमा काँग्रेसका तर्फबाट यिनैले अग्रणी भूमिका निर्वाह गरेका थिए ।
यस्तो द्वैध चरित्रकै कारण नेपाली काँग्रेस अधोगतितर्फ उन्मुख भएको छ । कहिले जनजातिलाई गाली गरेको छ, कहिले मधेशी मुस्लिमलाई गाली गरेको छ । कथित विशेष महाधिवेशनबाट छनोट भएका भनिएका पदाधिकारीहरुको नस्ल हेर्दा पनि काँग्रेसलाई एउटा अभिजातीय कोटरीमा सीमित गरिएको छ । उपसभापति, महामन्त्री, सचिव, कोषाध्यक्ष र अन्य केन्द्रीय सदस्यहरुको अनुहारले काँग्रेस समावेशी धारबाट अलग भएको प्रष्ट हुन्छ । हाल सम्पन्न प्रतिनिधिसभाको निर्वाचन एउटा टेलर मात्र हो । एक वर्षपछि वा विशेष परिस्थिति सिर्जना भएमा त्यसभन्दा अगाडि हुने स्थानीय तहको निर्वाचन, प्रदेशसभाको निर्वाचनमा नेतृत्वकै हावादारी प्रवृत्ति र शैलीले काँग्रेस पूर्ण रूपमा बढारिने देखिन्छ । पार्टी कब्जा गर्नु नै सबैभन्दा ठूलो सफलता होइन । स्थानीय, प्रदेश र संघीय संसदमा जनप्रतिनिधिहरुको वर्चस्व महत्वपूर्ण कुरा हो ।
