धरान । कथित विशेष महाधिवेशनबाट गगन थापा लगायत इतर समूहले पार्टीको नेतृत्व हत्याउन सफल भए पनि बचकना राजनैतिक सुझबुझका कारण फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सर्वनाक हार व्यहोरेपछि पुराना नेतृत्वले समानान्तर कमिटी गठन गर्ने भएको छ । विशेष महाधिवेशनले पार्टीभित्र चरम विभाजन ल्याएर पार्टीको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गरेपछि पार्टीलाई सशक्त र पुनर्जीवित बनाउन पूर्व सभापति शेरबहादुर देउवा, प्रभावशाली नेता शेखर कोइराला, पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, बालकृष्ण खाँड, धनबहादुर गुरुङ लगायतका दर्जनौं नेताले समानान्तर कमिटीका लागि छलफल तिब्र बनाएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार त्यसका लागि आइतबार पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टी कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकले चाँडै नै पुरानो केन्द्रीय कार्यसमितिका बैठक बोलाउने निर्णय गरेको थियो । बैठकका लागि संयोजक खड्काले नेताहरूसँग छलफल गरेर समय र स्थान निर्धारण गर्ने बताइएको छ । विगतमा पूर्णबहादुर खड्का कार्यवाहक सभापति छँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि कारबाही गरिएकोले बैठकमा दुवैलाई नबोलाउने निर्णय भएको छ । पुरानो नेतृत्वले विशेष महाधिवेशनका विरुद्धमा अदालतमा मुद्दा दायर गरे पनि अदालतको निर्णय आइसकेको छैन ।
