बीरगति प्राप्त गरेका गोर्खालीको सम्झनामा ‘गोर्खा ट्रेलबजर’ दौड प्रतियोगिता

धरान । विश्व शान्तिका लागि विभिन्न युद्धमा वीरगति प्राप्त गरेका गोर्खाली योद्धाहरूको सम्मान र सम्झनामा आयोजना हुँदै आएको ‘गोर्खा ट्रेलबेजर’ दौड प्रतियोगिताको चौथो संस्करण आगामी २०८२ साल चैत्र १४ गते शनिबार धरानमा आयोजना हुने भएको छ । गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । सन् २००६ मा हङकङमा स्थापना भएको गोर्खा सिमेट्रीज ट्रष्ट ले सन् २०१८ देखि नेपालमा पनि आफ्नो शाखा विस्तार गर्दै विभिन्न सामाजिक तथा स्मरणात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ट्रष्टले प्रत्येक वर्ष अप्रिल ५ का दिन ‘पूर्खा दिवस’ मनाउँदै दोस्रो विश्वयुद्धका जीवित गोर्खाली योद्धाहरूलाई सम्मान गर्दै आएको छ । हालसम्म ट्रष्टले १० जना जीवित योद्धा तथा भिक्टोरिया क्रस विजेता रामबहादुर लिम्बुलाई सम्मान गरिसकेको जनाएको छ । गोर्खालीहरूको वीरता र योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यसहित सन् २०२३ देखि धरानमा ‘गोर्खा ट्रेलबेजर’ दौड सुरु गरिएको हो ।

यसै क्रममा धरानमा चैत्र १४ गते बिहान ६ः३० बजे रत्नचोकबाट सुरु हुने १० किलोमिटरको दौड ब्रिटिस गोर्खा स्मृति पार्क, विष्णुपादुकामा पुगेर समापन
हुनेछ । प्रतियोगितामा खुल्ला, भेट्रान्स र विद्यार्थी गरी विभिन्न विधामा खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन् । गत वर्ष सम्पन्न तेस्रो संस्करणमा ७ सय भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिता सफल बनाउन धरान उपमहानगरपालिका, विभिन्न वडा कार्यालय, स्थानीय संघ–संस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहयोग रहेको ट्रष्टका अध्यक्ष महेन्द्र कुमार राईले जानकारी दिनुभयो । नेपाली धावकहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन ्। गत जनवरी ३१ मा हङकङमा सम्पन्न ‘गोर्खा ट्रेलबेजर २०२६’ मा सरोज लिम्बुले १२ किलोमिटर दौडमा नयाँ
रेकर्डसहित प्रथम स्थान हासिल गरेका थिए । महिलातर्फ पुष्पा सेर्मा प्रथम र जमुना लिम्बु सातौँ स्थानमा रहन सफल भएका थिए । त्यसको एक सातापछि आयोजित ‘फोर टूेल्स मिनी १६ किलोमिटर’ दौडमा पनि सरोज र पुष्पाले प्रथम स्थान तथा जमुनाले दोस्रो स्थान हासिल गर्दै नेपालको प्रतिष्ठा उचो बनाएका थिए । चौथो संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउन आयोजकले धरान उपमहानगरपालिका, विभिन्न वडा कार्यालय, संघ(संस्था तथा व्यक्तिगत दाताहरूसँग आर्थिक तथा भौतिक सहयोगका लागि अपिल गरेको छ । गोर्खाली पूर्खाको सम्मान, विश्व शान्तिको सन्देश र खेलकुद विकासलाई एकसाथ जोड्ने यो प्रतियोगिता आगामी दिनमा अझ प्रभावकारी र व्यापक हुने विश्वास आयोजकले व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया