कोशी साहित्य कला परिषद्को झापामा दुई दिने साहित्यिक सद्भाव यात्रा सम्पन्न

धरान । कोशी साहित्य कला परिषद्को आयोजनामा झापामा दुई दिने साहित्यिक सद्भाव यात्रा सम्पन्न भएको छ । झापाका विभिन्न साहित्यिक संघ संस्था तथा स्रष्टा एवं ऐतिहासिक–पुरातात्विक दृष्टिले महत्व बोकेका स्थानहरुलाई लक्षित गरेर चैत्र ६ र ७ गते परिषद्सँग आबद्ध साहित्यकारहरुले यात्रा आरम्भ गरेका थिए । यात्राका क्रममा ओझेलमा परेको तर अत्यन्तै मनमोहक विशाल विराट पोखरी पुग्दा यात्रामा सहभागी स्रष्टाहरु दंग परेका थिए । बिर्तामोडबाट तीन किमी दक्षिणमा रहेको महाभारतकालीन राजा विराटले उक्त पोखरी निर्माण गर्न लगाएको किंवदन्ती रहेको छ । पोखरीको उचित संरक्षण र सम्बद्र्धन हुन नसकेकोप्रति स्रष्टाहरुले खिन्नता व्यक्त गरेका थिए । पोखरीको ऐतिहासिक र पुरातात्विक महत्वलाई राज्यले थप उजागर गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।


सद्भाव यात्राको प्रमुख उद्देश्य झापामा रहेका साहित्यिक संघ संस्थाको अवलोकन गर्नु, त्यसका सञ्चालकहरुसँग अन्तरक्रिया गर्नु रहेको थियो । चैत्र ६ गते झापा बिर्तामोडका अग्रज पत्रकार, साहित्यकार एवं कोशी साहित्य कला परिषद्का सल्लाहकार केशव आचार्यको घरमा सन्ध्याकालीन साहित्यिक उत्सवको आयोजना गरिएको थियो । आचार्यकै पहलमा सद्भाव टोलीले झापाली साहित्य समाजको आयोजनामा शब्द यात्रा कार्यक्रम सम्पन्न गरेको थियो । चैत्र ७ गते शनिवार साहित्य, लेखन र अनुसन्धानका क्षेत्रमा पूर्वकै तारा भनेर चिनिनु भएका बयोवृद्ध भाषाविद् चुडामणि रेग्मीसँग सद्भाव टोलीले शिष्टतापूर्वक आशीर्वाद लिएर आफ्नो यात्रा तय गरेको थियो । उनीहरुले चन्द्रगढीस्थित रहेको लेखनाथ पुस्तकालय, धुलाबारीस्थित रहेको त्रिफला राष्ट्रिय पुस्तकालय, काँकडभिट्टा स्थित सुसेली साहित्य परिवार, बिर्तामोड स्थित साहित्य चौतारी, दमकस्थित साहित्य कला संगमहरुमा पुगेर संस्थासँग जोडिनु भएका साहित्यिक व्यक्तिहरुसँग भेटघाट गरी यात्राको मैझारो
गरिएको थियो ।

तपाईको प्रतिक्रिया