इटहरी स्थित जनता बहुमुखी क्याम्पस मा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘स्ववियु कप २०८२’ सुरु भएको छ । सोमबारदेखि सुरु भएको सप्ताहव्यापी खेलकुद कार्यक्रमको उद्घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले गर्नुभएको हो ।

उद्घाटन अवसरमा क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विद्यार्थीबीच ३ किलोमिटर मैत्रीपूर्ण दौड आयोजना गरिएको थियो । चैत १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत फुटबल, भलिबल, कवड्डी, डोरी तान्ने, छेलो, लङजम्प, बुद्धिचाल र १ सय मिटर दौडलगायतका प्रतियोगिता हुनेछन् । कार्यक्रमका वक्ताहरूले क्याम्पसमा गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँगै अघि बढाइएको उल्लेख गर्दै पूर्वाधार विकासमा सहयोगको प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
