काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले चैत्र ६ गते काठमाडौँमा आयोजित एक विशेष समारोहबीच २४ औं स्वर्ण छात्रवृत्ति दिवस आयोजना ग-यो ।
स्वर्ण जयन्ति छात्रवृत्ति दिवसका अवसरमा सन् २०२५ का लागि उच्च शिक्षा अध्ययनका लागि छानिएका स्वर्ण जयन्ति छात्रवृत्ति पाएका २ सय जना विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो । समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजु कुमार थपलिया, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. ध्रुवकुमार गौतम, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, लुम्बिनी प्राविधिक विश्वविद्यालयका डा. विनोदप्रसाद ढकाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो. शेरराज केसीसँगै ती विश्वविद्यालयका डिन र रजिस्ट्रार, कैयौँ शैक्षिक संस्थाका प्रिन्सिपलहरूको सहभागिताले कार्यक्रमलाई अनुग्रहित बनाएको थियो ।


दूतावासद्वारा जारी विज्ञप्तिका अनुसार भारतीय राजदूत नविन श्रीवास्तवले चिकित्सा र इन्जिनियरिङ लगायतका क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने छात्रवृत्ति प्राप्त जेहेनदार विद्यार्थीहरूलाई ‘रोल अफ अनर’ प्रदान गर्नुभएको थियो । उहाँले विद्यार्थी तथा शैक्षिक संस्थाहरूलाई नवप्रवर्तन र विकासका लागि भारत–नेपालको बलियो सहकार्यबाट सिर्जित अवसरको सक्दो सदुपयोग गर्न प्रोत्साहनसमेत गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने गोल्डेन जुब्ली छात्रवृत्ति सन् २००२ मा स्थापना भएको थियो । नेपाल–भारत आर्थिक सहयोगका ५० वर्ष पुगेको अवसरमा उक्त छात्रवृत्ति स्थापना गरिएको थियो । हरेक वर्ष भारत सरकारले नेपाली विद्यार्थीहरूलाई दिने छात्रवृत्ति संख्या वृद्धि गर्दै लगेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिका अनुसार हाल वार्षिक रूपमा २ सय जना विद्यार्थीहरूलाई गोल्डेन छात्रवृत्ति उपलब्ध गराइँदै आएको र छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या ३ हजार ७ सय रहेको र नेपालका ७७ वटै जिल्लाका विद्यार्थीहरूलाई यो अवसर प्रदान गरिएको छ । भारत सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा अध्ययन गर्ने छात्राको संख्या ४० प्रतिशत रहेको छ । भारत सरकारले हाल वार्षिक १ हजार ५ सय विद्यार्थीहरूलाई इन्जिनियरिङ, मेडिसिन, डेन्टल, विज्ञान, व्यवस्थापन, लेखा, नर्सिङ, आयुर्वेद, होमियोप्याथी, योगासँगै डान्स, थियटर लगायतमा भारतका प्रख्यात इन्स्टिच्युटहरूमा अण्डरग्राजुएट, पोस्टग्राजुएट तथा चिकित्सा क्षेत्रमा गरी २००१ देखि ४० हजार विद्यार्थीहरूलाई अवसर उपलब्ध गराइसकेको छ । सो अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले कार्यक्रम प्रस्तुत गरेका थिए ।






