सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले फागुन महिनामा अपराध नियन्त्रण, लागुऔषध बरामद तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त अवधिमा जिल्लाभर १७७ वटा विभिन्न मुद्दा दर्ता भएका छन् भने १२४ जना प्रतिवादी पक्राउ परेका छन् । दर्ता भएका मुद्दामध्ये ५४ वटा सामान्य प्रकृतिका, ५२ वटा गम्भीर प्रकृतिका र ७ वटा जघन्य प्रकृतिका रहेका छन् भने अन्य ६४ वटा मुद्दा पनि दर्ता भएका छन् । प्रहरीको खोजीका क्रममा अझै ४३ जना फरार प्रतिवादी रहेको जनाइएको छ । फैसला कार्यान्वयनतर्फ ९ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने १ वर्ष १० महिना कैद भुक्तान गराइएको र ४६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।

लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले फागुन महिनामा १२०८.१ केजी गाँजा, १४०.०८ ग्राम ब्राउन सुगर र १४ हजार २२० वटा विभिन्न लागुऔषध ट्याब्लेट बरामद गरेको छ। यस सम्बन्धमा संलग्न २७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी भन्सार छली गरी ल्याइएका १५ लाख ७० हजार ७११ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ । ट्राफिक व्यवस्थापनतर्फ फागुन महिनामा १२६ वटा सडक दुर्घटना भएका छन्। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २१७ जना घाइते भएका छन्। ट्राफिक कारबाहीअन्तर्गत ९१४ वटा सवारी साधनलाई कारबाही गरी ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १३२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ५ हजार २७४ जना सहभागी भएका छन्। कार्यक्रममा लागुऔषध विरुद्ध अभियान, ट्राफिक सचेतना तथा आत्महत्या न्यूनीकरणसम्बन्धी शिक्षा प्रदान गरिएको थियो । फागुन महिनामा जिल्लामा २१ वटा आगलागीका घटना भएका छन्, जसबाट करिब १ करोड १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रहरीका अनुसार उक्त अवधिमा ६३ जना हराएको निवेदन प्राप्त भएकोमा ४२ जनालाई फेला पारिएको छ। त्यस्तै आत्महत्याका १२ वटा घटना भएका छन् र ती सबै झुण्डिएर भएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
