धरान । विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि स्वच्छ पिउने पानी केवल सुविधा मात्र होइन, स्वास्थ्य र अध्ययन दुवैसँग जोडिएको आधारभूत आवश्यकता हो । विशेषगरी गर्मी मौसममा तिर्खा मेटाउने चिसो पानी र जाडो मौसममा तातो पानीको व्यवस्था हुन सके विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा ठूलो सहयोग पुग्छ । यही आवश्यकतालाई ध्यानमा राख्दै दाताहरूको सहयोगमा धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शुद्ध तातो तथा चिसो पिउने पानीको व्यवस्था गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यले फिल्टरसहितको तातो–चिसो पानी प्रणाली जडान गरिएको हो । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ विभिन्न दाता परिवारको सहयोगमा जडान गरिएका यी सुविधाहरू एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

धरान–२ निवासी दाता मोतीलाल अग्रवाल, अरुणा अग्रवाल तथा उहाँका छोरा रोहितकुमार अग्रवाल र बुहारी स्वेता अग्रवालले आफ्ना दिवंगत पिता स्वर्गीय भगवानदास अग्रवाल र माता स्वर्गीय चन्द्रवली देवी अग्रवालको स्मृतिमा फिल्टरसहितको शुद्ध चिसो पिउने पानी उपलब्ध गराउने मेसिन विद्यालयलाई प्रदान गर्नुभएको हो । कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्यले विद्यालयको विकासमा राज्यको मात्र मुख नताकी सामाजिक उत्तरदायित्व बोध भएका दाताहरूको योगदान अत्यन्त सराहनीय रहेको बताउनुभयो । उहाँले यस सहयोगबाट विशेषगरी गर्मीयाममा विद्यार्थीहरूले शुद्ध चिसो र तातो पानी पिउन पाउने भएकाले स्वास्थ्य र पढाइ दुवैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी इलामको फाकफोकथुम–४ स्थायी घर भई हाल धरान–३ मा बसोबास गर्दै आउनु भएका गंगाप्रसाद श्रेष्ठ र रेविका श्रेष्ठको परिवारले आफ्ना दिवंगत पिता देवीप्रसाद श्रेष्ठ तथा माता स्वर्गीय देवीमाया र स्वर्गीय डम्बरकुमारी श्रेष्ठको पुण्य स्मृतिमा निर्माणाधीन भवनसहित शुद्ध पिउने चिसो पानीको धारा निर्माणमा सहयोग गर्नुभएको छ ।
वडाध्यक्ष शाक्यले दाता परिवारलाई धन्यवाद व्यक्त गर्दै वडा कार्यालयले विद्यालयको विकासका लागि आवश्यक सहयोग र सहकार्य निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार धरान उपमहानगरपालिकाको बजेटबाट विद्यालयको शौचालय निर्माणका लागि ९ लाख रुपैयाँ र भवन निर्माणका लागि १ लाख रुपैयाँ गरी कुल १० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ । यस्ता सामाजिक कार्यहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उहाँको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदीले दाताहरूको अमूल्य सहयोगले विद्यालयलाई ठूलो राहत पुगेको बताउनुभयो । कार्यक्रममा दाता परिवारलाई विद्यालयका तर्फबाट प्रशंसा–पत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो । स्वच्छ पिउने पानीको व्यवस्था भएपछि विद्यार्थीहरूले सहज रूपमा शुद्ध पानी पिउन पाउने भएका छन् । विद्यालयको वातावरणलाई स्वस्थ र सुरक्षित बनाउन यस्ता सहयोगी हातहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
