श्रमदानबाट ल्याइएको पानीलाई लिएर धरानमा फेरि लफडा

धरान । धरानको खानेपानी समस्या समाधानका लागि केही समयदेखि श्रमदानमार्फत पानी ल्याउने अभियान चलिरहेको छ । तर यही अभियानसँग जोडिएको विषयले अहिले धरानमा नयाँ विवाद निम्त्याएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा हालै निर्वाचित प्रतिनिधिसभा सदस्य हर्कराज राई र धरान खानेपानी बोर्डबीच पुनः मतभेद देखिएको हो । धरान उपमहानगरपालिकाको मेयर र धरान खानेपानी बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि पनि श्रमसंस्कृति पार्टीका अध्यक्षसमेत रहेका राईले खानेपानी बोर्डप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले कोकाहा खोलाबाट ल्याइएको पानी व्यवस्थापनको विषयमा बोर्डलाई लक्षित गर्दै कडा चेतावनी दिनुभएको हो । दुई दिनअघि कोकाहाबाट ल्याइएको खानेपानीमा श्रमदान गर्ने क्रममा श्रमदाताहरूका लागि पिउने पानी आवश्यक पर्दा खानेपानी बोर्डसँग ट्यांकर माग गरिएको तर समयमा उपलब्ध नगराइएको आरोप राईले लगाउनुभएको छ । यसप्रति असन्तुष्टि जनाउँदै उहाँले श्रमदाताहरूले पसिना बगाएर ल्याएको पानी अब बोर्डको ट्यांकीमा नहालिने र सिधै जनतालाई वितरण गरिने चेतावनी दिनुभएको छ ।

राईको उक्त भनाइ सार्वजनिक भएपछि धरानमा यस विषयले व्यापक चर्चा पाएको छ । श्रमदानमार्फत ल्याइएको पानीलाई बोर्डको व्यवस्थापनमा राख्ने कि छुट्टै वितरण गर्ने भन्ने विषयमा मतभेद देखिएको छ । यस विषयमा श्रमदान अभियानमा सक्रिय धरान उपमहानगरपालिका वडा नं. ४ का निवर्तमान वडाध्यक्ष धनबहादुर राई ले पनि श्रमदाताहरूले पसिना बगाएर ल्याएको पानीमा बोर्डको एकाधिकार हुन नसक्ने बताउनुभएको छ । उहाँका अनुसार श्रमदानमार्फत गरिएको कामको सम्मान हुनुपर्छ । यता धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर तथा धरान खानेपानी बोर्डका अध्यक्ष अइन्द्र विक्रम बेघाले भने राईले लगाएको आरोपको खण्डन गर्नुभएको छ । उहाँका अनुसार बोर्डले पानी नपठाएको नभई प्राविधिक कारणले केही ढिलाइ मात्र भएको हो । खानेपानी जस्तो संवेदनशील विषयलाई राजनीतिक विवादको विषय नबनाउन उहाँले आग्रह गर्नुभएको छ । धरानमा लामो समयदेखि देखिँदै आएको खानेपानी अभाव समाधानका लागि श्रमदानमार्फत पानी ल्याउने प्रयासलाई धेरैले सकारात्मक पहलका रूपमा लिएका छन् । यसले धरानेहरूको दैनिक पानी समस्या केही हदसम्म कम भएको देखिएको छ ।तर बोर्डको अध्यक्ष पदबाट राजीनामा दिएर जिम्मेवारी हस्तान्तरण गरिसकेपछि पनि बोर्डप्रति कडा अभिव्यक्ति आउन थालेपछि आम धरानेहरूको धारणा विभाजित देखिन थालेको छ । श्रमदानको पानी ट्यांकीमा हाल्ने वा सिधै वितरण गर्ने भन्ने विषयले धरानको खानेपानी व्यवस्थापनमा थप बहस र विवाद जन्माएको छ ।

तपाईको प्रतिक्रिया