धरान । नेपालको पूर्वी क्षेत्रको खेलकुद गतिविधिमा नयाँ उत्साह थपिँदै गएको छ । विशेषगरी हरियाली मैदान र शान्त वातावरणका कारण परिचित धरानको गल्फ कोर्समा पछिल्ला वर्षहरूमा गल्फ खेलका गतिविधि झनै सक्रिय बन्न थालेका छन् । यही क्रममा धरानमा ‘ग्यालेक्सी काठमाडौं ओपन एमेच्योर गल्फ टुर्नामेन्ट’ आयोजना गरिएको छ, जसले खेलसँगै पर्यटन र व्यवसायिक नेटवर्किङलाई पनि जोड्ने प्रयास गरेको छ । आगामी शनिबार सम्पन्न हुने उक्त प्रतियोगिताले पूर्वी नेपालमा गल्फ खेलप्रति बढ्दो आकर्षणलाई थप उजागर गरेको छ । प्रतियोगिताबारे जानकारी दिँदै गल्फ खेलाडी तिलक राईले यस पटकको प्रतियोगिता विशेष रहेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष ग्लाक्सी काठमाण्डौले प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ । प्रायोजक संस्थाले करिब दुई लाख रुपैयाँ सहयोग गरेको र प्रतियोगिता सफल भए आगामी वर्षहरूमा पनि सहकार्य निरन्तर रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
खेलाडीहरूको उत्साह बढाउन प्रतियोगितामा आवश्यक खेल सामग्रीहरूको पनि व्यवस्था गरिएको छ । राईका अनुसार सहभागी खेलाडीहरूलाई गल्फ ब्याग, छाता, बल र पञ्जा जस्ता सामग्री प्रदान गरिएको छ, जसले खेलाडीहरूमा थप ऊर्जा र उत्साह ल्याएको छ । धरान गल्फ क्लबका अध्यक्ष हरिबहादुर राईले धरानको गल्फ कोर्स पूर्वी नेपालकै विशिष्ट कोर्स भएको बताउनुभयो । उहाँका अनुसार पूर्व क्षेत्रका धेरै महत्वपूर्ण प्रतियोगिताहरू यही कोर्समा आयोजना हुँदै आएका छन् । गल्फ खेलको विकास र विस्तारका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

कोशी गल्फ एसोसिएसनका अध्यक्ष सुरेश प्याकुरेलले गल्फ खेल केवल मनोरञ्जनमा सीमित नभई अनुशासन, व्यवसायिक नेटवर्किङ र पर्यटनसँग समेत जोडिएको खेल भएको बताउनुभयो । उहाँका अनुसार धरानमा आयोजना हुने यस्ता प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरू सहभागी हुने भएकाले यसले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि टेवा पु¥याउँदै आएको छ । धरानमा आयोजना भएको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गरेको छ । प्रतियोगितामा धरान, विराटनगर, इटहरी र काठमाडौंका खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । धरानमा गल्फ खेलको इतिहास पनि निकै पुरानो छ । यहाँ गल्फ खेलको सुरुवात सन् १९६२ मा घोपाक्याम्पस्थित ब्रिटिश गोरखा क्याम्पबाट भएको मानिन्छ । त्यसबेला ब्रिटिश सेनाले ९ होलको गल्फ कोर्स निर्माण गरेका थिए । पछि ब्रिटिश क्याम्प बन्द भएपछि स्थानीय खेलाडी र क्लबका सदस्यहरूको पहलमा खेललाई निरन्तरता दिइयो । कुनै समय नेपालमा सञ्चालनमा रहेको प्रमुख गल्फ कोर्स नै धरानमा मात्र रहेको उल्लेख पाइन्छ । यही इतिहास र निरन्तरताले धरानलाई देशकै महत्वपूर्ण गल्फ केन्द्रका रूपमा स्थापित गरेको मानिन्छ । अहिले पनि यहाँ आयोजना हुने यस्ता प्रतियोगिताहरूले खेलसँगै पर्यटन, सम्बन्ध र सम्भावनालाई एउटै मैदानमा जोड्दै लगिरहेका छन् ।
