धरान । स्वास्थ्य क्षेत्रभित्र सञ्चालनमा रहेको क्यान्टिन सामान्य अवस्थामै रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कोशी प्रदेशले निर्देशिकामा उल्लेखित मापदण्डलाई आधार बनाएर गरेको अनुगमनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र सञ्चालित डेन्टल क्यान्टिनको खाद्य स्वच्छताको आधारमा मध्यम अर्थात् सन्तोषजनक श्रेणी प्रदान गरेको हो । कार्यालयले होटल तथा रेष्टुराँ स्तरीकरण निर्देशिका २०७४ अनुसार क्यान्टिनको मूल्याङ्कन गरी ‘मध्यम (सन्तोषजनक)’ श्रेणी प्रदान गरेको हो । सञ्चालकको निवेदनका आधारमा क्यान्टिनको निरीक्षण तथा मूल्याङ्कन गरी स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कोशी प्रदेशका प्रमुख पुष्पलाल राईले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले सामान्यतया सामूहिक रूपमा होटल तथा रेष्टुराँहरूको वर्गीकरण गर्दै आए पनि यस पटक भने अनुरोध र निवेदनका आधारमा उक्त क्यान्टिनको स्तरीकरण गरिएको हो । कार्यालय प्रमुख राईका अनुसार होटल तथा रेष्टुराँको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइमा प्रयोग गरिने रसायन तथा विषादीको प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्याङ्कनको मुख्य आधार बनाइएको थियो ।

निर्देशिकाअनुसार स्तरीकरणका लागि ५० वटा सूचकसम्बन्धी प्रश्नको आधारमा मूल्याङ्कन गरिन्छ । सो क्रममा प्राप्त अङ्कका आधारमा व्यवसायलाई अति उत्तम, उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीमा वर्गीकरण गरिने व्यवस्था रहेको छ । मूल्याङ्कनको नतिजाअनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को डेन्टल क्यान्टिनले ६५ देखि ७९ अङ्कको बीचमा अङ्क प्राप्त गर्दै ‘मध्यम (सन्तोषजनक)’ श्रेणी हासिल गरेको हो । सो श्रेणीअन्तर्गत क्यान्टिनले ‘ग’ वर्गको हरियो स्टिकर र एक तारा सहितको प्रमाणपत्र प्राप्त गरेको छ । उक्त क्यान्टिनका सञ्चालक रोमन श्रेष्ठले प्रतिष्ठानभित्र डेन्टलका चिकित्सक तथा
कर्मचारीहरूले प्रयोग गर्ने क्यान्टिन भएकाले आफ्नै अनुरोधमा मूल्याङ्कन गर्न आग्रह गरेको बताउनुभयो । यो क्यान्टिनले प्राप्त गरेको श्रेणीलाई हेर्दा प्रतिष्ठानभित्र अर्थात् स्वास्थ्य क्षेत्रभित्र सञ्चालित क्यान्टिन नै सन्तोषजनकमात्र रहेको पाउनुले अन्य होटल तथा रेष्टुराँको खाद्य स्वच्छताको अवस्था कस्तो होला भन्ने प्रश्न पनि उब्जिएको छ । कार्यालयका अनुसार स्तरीकरण प्रणालीले होटल तथा रेष्टुराँहरूलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । तर उपभोक्तालाई सुरक्षित र स्वच्छ खाना उपलब्ध गराउने होटलहरूको यस्तो मूल्याङ्कनले होटल तथा रेष्टुराँहरूको खाद्य स्वच्छता गुणस्तरमाथि भने थप प्रश्न उठाएको छ ।
