शनिश्चरे (झापा) । झापाको अर्जुनधारा १ स्थित साधुटारमा तीनदिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव सम्पन्न भएको छ । साधुटारस्थित शंकराचार्यपीठ वेद वेदाङ संस्कृत पाठशाला एवम् सिद्धेश्वरी कामदा गौशलाको आयोजनामा झापाका साहित्यिक गतिविधि, पर्यटक स्थल धार्मिक अनुष्ठानहरुलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिनुभयो । महोत्सवमा भारतको आसाम, सिक्किम, दुबरस, कोलकाता, दार्जीलिङ, सिलगुढी, गोरखपुर लगायतका स्थानबाट र नेपालका विभिन्न स्थानबाट गरी उल्लेख्य संख्यामा कवि कवियित्री, साहित्य अनुरागी, लेखक, गजलकार, संगीतकार, आख्यानकर्ताहरुको सहभागिता रहेको महोत्सवको संयोजक समेत रहनु भएका डा. गोपी खतिवडाले जानकारी दिनुभयो । फागुन २८ देखि प्रारम्भ भएको महोत्सवको पहिलो दिन आगन्तुहरूको स्वागत, रुवागत, चुरे क्षेत्रको र मदन भण्डारी लोकमार्गको अवलोकन, योग शिविरको आयोजना, वैद्धिक नीति सम्बन्धी विशेष प्रस्तुति, पूराण दर्शनसम्बन्धी प्रवचन, काव्य सन्ध्या आयोजना गरिएको थियो ।

यसैगरी महोत्सवको दोस्रो दिन कविता लेखन प्रशिक्षण, विद्वत् सभा, भजन सन्ध्या र अन्तिम दिन मूल समारोह उद्घाटन, कार्यपत्र प्रस्तुतिसँगै समापन गरिएको थियो कार्यक्रमको दोस्रो दिन उत्साहप्रद रूपमा साहित्यकारहरूले झापाका २० वटा गुरुकुलका विद्यार्थीसँग साक्षात्कार गरेका थिए सो अवसरमा प्रा.डा. देवीप्रसाद नेपालले उनीहरूको छन्द कविता लेखनमा प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लक्ष्मीप्रसाद खतिवडाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा भारतका कलाश्री विनोद खनाल रहनु भएको थियो । कार्यक्रमको अन्तिम दिन डा. दिपक न्यौपानेले कार्यपत्र प्रस्तुत, महेश पौड्यालले हिमाल साहित्य र पर्यटन सन्दर्भमा कोशी प्रदेश कार्यपत्र, डा. कर्णखिर खतिवडाले आरोग्य पर्यटन विषय, प्रा.डा. देवी नेपालले शास्त्रीय छन्दको परम्परा र प्रयोग प्रस्तुत गर्नुभएको थियो ।
