धरान । एक सातापछि हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी जिल्लाका कुल १६७ मतदान स्थलमध्ये ५९ अति संवेदनशील, ६६ वटा संवेदनशील र ४२ वटा सामान्यको रूपमा जिल्ला सुरक्षा समितिले वर्गीकरण गरेको छ । आवधिक निर्वाचन २०७९ मा सुनसरी जिल्लामा १६४ मतदान स्थल रहेका थिए । तीन वर्षको अवधिमा जिल्लामा फागुन २१ गतेसम्म १८ वर्ष उमेर पुगेका १ लाख ५९ हजार ७८७ जना नयाँ मतदाता थपिएसँगै मतदान स्थलको संख्या समेत बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हाल सुनसरीमा ५ लाख ८० हजार ९४५ मतदाता रहेका छन् भने २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा ४ लाख २१ हजार १५८ जना रहेका थिए । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा अर्थात १२ वटै स्थानीय निकायमा गरी पुरुष मतदाताको संख्या २ लाख ९४ हजार २५२ जना छन् भने महिला मतदाताको संख्या २ लाख ८६ हजार ६९१ रहेका छन् । जसमा २ जना तेस्रो लिंगी मतदाता छन् ।


जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले दिनुभएको जानकारी अनुसार आसन्न निर्वाचनका लागि ३ हजार १ सय ४९ जना निर्वाचन प्रहरी परिचालित हुने भएका छन् । उहाँले भन्नुभयो ५९ वटा निर्वाचन स्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । त्यस्ता निर्वाचन स्थलहरू खास गरेर नेपाल–भारत सीमावर्ती इलाकाका रहेका छन् । जिल्लाको सीमासँग जोडिएका मतदान स्थललाई अति संवेदनशीलको रूपमा लिएका छौं, उत्तरका अलिकति लामो दूरीका एकान्तमा रहेका मतदान स्थललाई संवेदनशीलको र अन्यलाई सामान्य रूपमा लिएको एसपी थेवेले बताउनुभयो । सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सीमावर्ती क्षेत्रका स्थानीय तहहरू बर्जु गाउँपालिका, हरिनगरा गाउँपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका मतदान स्थलहरू अति संवेदनशील सूचीमा राखी ती क्षेत्रमा सुरक्षाकर्मीहरू अन्यभन्दा बढी परिचालन गरिसकिएको छ । सीमा क्षेत्रका भारतीय प्रहरीको सहयोगमा एक साताअघि देखि नै दुवै देशतर्फ आवतजावत गर्ने नागरिकहरूप्रति निगरानी राख्ने, कडाइका साथ चेकजाँच गर्ने लगायतका कामहरू भइरहेका छन् । यी मतदान स्थलहरूलाई सुरक्षा निकायहरूले विगतमा पनि अति संवेदनशीलको रूपमा सूचीकृत गरेको थियो । सीमावर्ती क्षेत्रका मतदान स्थल बाहेक गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरुवा नगरपालिकाको चार वटा मतदान स्थल, धरान उपमहानगरपालिकाको चार वटा मतदान स्थल, धरान उपमहानगरपालिकाको वडा नं. ५ हिमाली मावि देउराली मतदान स्थल समेतलाई सुरक्षा समितिले अति संवेदनशील मतदान स्थलको रूपमा राखेको छ । निर्वाचनलाई मध्यनजर गरी सुरक्षा निकायहरूले गस्ती बढाएका छन् । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र निर्वाचन प्रहरी परिचालित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले यतिबेला सीमा क्षेत्रमा गस्ती बढाएको छ भने नयाँ भनिएका दल र पुराना दलबीच मुठभेड बढ्न सक्ने आशंकामा सूक्ष्म निगरानी समेत बढाइएको स्रोतले जानकारी दिएको छ ।
