धरान । रोटरी क्लव अफ धरान घोपाले धरान–१५ स्थित सिलाम साक्मा बालविकास केन्द्र र धरान–२० देवीगाउँको जनजागरण बाल विकास केन्द्रका २५/२५ जना बालबालिकालाई विद्यालय प्रयोजनका लागि आवश्यक झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।


क्लबका अध्यक्ष इश्वर ताम्राकारका अनुसार बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै उनले शिक्षा नै समाज रूपान्तरणको आधार भएकाले प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराउनु महत्वपूर्ण रहेको बताए । उनले क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सिलाम साक्मा बालविकास केन्द्रका अध्यक्ष रत्न नेम्वाङले सहयोगप्रति आभार व्यक्त गर्दै यसले नानीहरूको पढाइप्रति उत्साह बढ्ने विश्वास व्यक्त गरे । स्थानीय अभिभावकहरूले पनि सामाजिक संस्थाको सक्रियताले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।
