धरान । राष्ट्र, राष्ट्रियता र राजसंस्थाको निरन्तरताका लागि गठन भएको राजावादी अन्तर्राष्ट्रिय (Royalist Movement International ) ले एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय सहमति चुनाव भन्दा अगाडि हुनुपर्ने जनाएको छ । फागुन ११ गते सोमबार जारी विज्ञप्तिमा भनिएको छ, हामी विश्वास गर्दछौं कि राष्ट्रिय सहमति बिना अघि बढाइने कुनै पनि निर्वाचन वा राजनीतिक प्रक्रिया दीर्घकालीन स्थिरता, राष्ट्रिय एकता तथा संस्थागत सुदृढीकरणको आधार बन्न सक्दैन । वर्तमान नेपालको राजनीतिक परिस्थिति, जनआकांक्षा तथा देशमा देखिएको अस्थिरतालाई मध्यनजर गर्दै सर्वपक्षीय राष्ट्रिय सहमति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता भएको हाम्रो ठहर छ ।

अभियानका प्रवक्ता गौरव शमशेर थापा क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, अन्तर्राष्ट्रिय राजावादी समूह, विश्वभर रहेका नेपाली समुदाय, राष्ट्रवादी शक्तिहरू तथा सरोकारवालाहरूसँग समन्वय गर्दै राष्ट्रिय एकता, स्थिरता र संवैधानिक राजसंस्थाको सुदृढीकरणका लागि अत्यन्तै सक्रिय रूपमा
लागिरहेको कुरा सम्पूर्ण प्रेस जगतमार्फत जानकारी गराउन चाहन्छु । हामी सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बौद्धिक वर्ग तथा सम्बन्धित निकायहरूलाई चुनावी प्रक्रियाभन्दा अगाडि राष्ट्रिय सहमतिलाई प्राथमिकता दिएर जिम्मेवार र सकारात्मक पहल गर्न आह्वान गर्दछौं । राष्ट्रको दीर्घकालीन स्थायित्व, समृद्धि र ऐतिहासिक निरन्तरताका लागि साझा राष्ट्रिय सहमति नै आजको मूल आधार हो भन्नमा हाम्रो दृढ विश्वास रहेको छ । विज्ञप्तिको अन्त्यमा भनिएको छ, हामी सम्पूर्ण लोकतान्त्रिक र संवैधानिक माध्यमबाट राष्ट्रिय सहमति तथा राजसंस्थाको पुनस्र्थापना सम्बन्धी बहसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।
