निर्वाचनको आवश्यकता र औचित्य नै पुष्टि नगरी परिचालित समूहको स्वार्थ र पश्चिमाहरूको दबाब, एनजिओ, आइएनजिओहरूको डरलाग्दो चलखेलका बीच हुन लागेको प्रतिनिधिसभाको निर्वाचनप्रति आम मतदाताहरूमा कुनै प्रकारको उत्साह देखिँदैन । विगतका निर्वाचनहरूमा राजनीतिक दलहरूसँगै मतदाताहरू समेत उत्साहित देखिन्थे । यस पटक अवस्था सर्वथा भिन्न देखिएको छ । निर्वाचनप्रति मतदाताहरू निरुत्साहित देखिनुको प्रमुख कारण फागुन २१ गते गर्ने भनिएको निर्वाचनले यावत समस्याको निराकरण गर्न नसक्ने निष्कर्ष नै हो । राजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रिय सहमति बेगर गरिने निर्वाचनले निकास दिन नसक्ने जुन कुरा उल्लेख गर्नुभएको थियो, आम मतदाताहरू त्यसप्रति सहमत भएको पाइन्छ । कथित शक्तिको उक्साहट भएका भाद्र २३ र २४ गतेको विध्वंसात्मक जेनजी आन्दोलनको माग र मर्म निर्वाचन थिएन । ठग, अपराधी, भ्रष्टाचारी, बलात्कारी, मानव तस्कर, माफियाहरूमाथि कारबाही हुनुपर्छ भन्ने नै थियो । तर आन्दोलनको माग र मर्मविपरीत बाह्य हस्तक्षेप र दबाबमा संसद विघटन र निर्वाचनको घोषणा गरियो । वर्तमान सरकार यही विमर्श पूरा गर्न लागि परेको छ । निर्वाचनमा अदालतमा धरौटी बुझाएर बाहिरिएका ठग, तीन वर्षका अवधिमा सहरको फोहोरसमेत व्यवस्थापन गर्न नसक्ने तर लाखौँ गरिबको रोजीरोटी खोस्ने, सुकुम्बासीका झुपडी भत्काएर विस्थापित गराउने अपराधी, निर्वाचनमा हामीलाई मत नदिने विदेशी दलाल हुन् भनेर धम्क्याउनेहरूलाई वर्तमान सरकारले संरक्षण गरेको देखिन्छ । आजका मतदाताहरू लाटा छैनन् । बारम्बार सरकारमा बसेर पनि आफूलाई नयाँको पगरी गुथेर हिँडेकाहरूलाई सरकारले गरेको संरक्षणलाई नजिकबाट नियालिरहेका छन् । पुराना दलहरू पारिवारिक र निजी स्वार्थमा लिप्त भए, पारिवारिक र निजी स्वार्थभन्दा माथि उठ्न सकेनन् तर मुलुक बर्बाद गर्न तहसम्म चाहिँ पुगेका थिएनन्, तर आज नयाँ भनिनेकाहरूका मनसाय नै मुलुक बर्बाद गर्नसम्मका रहेको तिनका गतिविधि र बाह्य सम्पर्कले प्रस्ट्याइसकेको छ । यो विषम परिस्थितिमा आम नागरिकको आशा र भरोसा न्यायालयतर्फ मोडिएको थियो । संसद पुनस्र्थापनाको रिटलाई न्यायालयले फागुन २१ गतेपछि सारेको छ । मुलुकको संवेदनशील मुद्दामा न्यायालय समेत पन्छिनु षड्यन्त्रको तानाबाना हरेक क्षेत्रमा व्याप्त भएको स्पष्ट भएको छ । प्रधान न्यायाधीश स्वयम्लाई कुनै अज्ञात शक्ति केन्द्रबाट धम्की दिइएको उनका अभिव्यक्तिहरूबाट स्पष्ट हुन्छ । को हो त त्यो बाहिरी शक्ति केन्द्र ? नेपाली जनताको अर्को आशा र भरोसाको केन्द्र भनेको नेपाली सेना हो । देश र नागरिकलाई संकट परेको अवस्थामा नेपाली सेनाले उचित कदम चाल्नेमा सबै नेपाली विश्वस्त थिए । तर प्रधानसेनापति पनि मुलुक संवेदनशील अवस्थामा छ, भू–राजनीति जटिल अवस्थामा छ भनेर बोल्ने बाहेक उचित कदम चाल्न हिच्किचाइरहेका छन् । सेनाले स्पष्ट गर्नुप¥यो, संवेदनशील र जटिल भू–राजनीतिका सम्बन्धमा प्रस्ट्याउनुप¥यो । अवस्था त्यति जटिल र गम्भीर भएको भए त्यसको लागि नागरिकलाई आह्वान गर्नुप¥यो, उचित निकासको मार्गदर्शन गर्नुप¥यो । अब गफ गरेर मात्र बस्ने अवस्था छैन ।
