धरान । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय साझा पार्टी (रा.सा.पा.) ले आफ्नो विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । धरान केन्द्रित स्थानीय समस्या समाधानदेखि राष्ट्रिय स्तरका नीतिगत सुधारसम्म समेटिएको उक्त दस्तावेज सार्वजनिक गर्दै पार्टीका तर्फबाट प्रत्यक्ष उम्मेदवार भूपी कोयी राईले ढाका टोपी चुनाव चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजय गराउन मतदातासँग अपिल गर्नुभएको छ । उम्मेदवार राईले भन्नुभयो, ‘धरानको खानेपानी, कर प्रणाली, सर्दु जलाधार, सहकारी पीडित, स्वास्थ्य र पूर्वाधारका सवालहरू अब लम्बिनु हुँदैन। जनताको प्रत्यक्ष सहभागितामा पारदर्शी र उत्तरदायी शासनमार्फत यी समस्या समाधान गर्ने हाम्रो अठोट छ ।’ पार्टीले धरान नगरवासीलाई महँगो कर तिर्न बाध्य पारिएको उल्लेख गर्दै स्थानीय निकायसम्बन्धी पुराना कानुन खारेज गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कर प्रणाली वैज्ञानिक र व्यवहारिक ढंगले निर्धारण गर्नुपर्ने माग गरेको छ । विगतमा धरानबाट अन्यत्र सारिएका १४ वटा कर कार्यालयबारे पनि जवाफदेहिता खोजिने बताइएको छ ।


खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न एडिबी ऋणबाट सञ्चालित धरान खानेपानी बोर्ड खारेज गरी खानेपानी मन्त्रालयअन्तर्गत नयाँ संस्था स्थापना गर्नुपर्ने प्रतिबद्धता जनाइएको छ । तम्मर सुरुङ मार्ग र सप्तकोशीको विकल्पसहित राष्ट्रिय गौरवको परियोजना ल्याउनुपर्ने माग राखिएको छ । सर्दु जलाधारअन्तर्गतको जग्गा सीमाङ्कन गरी बाँकी रोक्का फुकुवा गर्नुपर्ने र पीडितलाई राहत दिनुपर्ने विषय पनि प्राथमिकतामा राखिएको छ । अव्यवस्थित बसोबासी समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको निर्देशनअनुसार पहल गरिने र सहकारी ठगीका पीडितलाई रकम फिर्ता गराई दोषीलाई कानुनी कठघरामा उभ्याइने अडान व्यक्त गरिएको छ । प्रस्तावित डाँडाघोपा विमानस्थललाई निरन्तरता दिने, नयाँ बसपार्क सञ्चालनको अवरोध हटाउने, छाता चोकस्थित क्षेत्रीय अस्पतालको समस्या समाधान गर्ने तथा धरान उपमहानगरपालिकाको ६०÷४० प्रतिशत मापदण्ड पुनरावलोकन गर्ने प्रतिबद्धता पनि जनाइएको छ । स्वास्थ्य क्षेत्रतर्फ बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त राखी राज्यले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र आवश्यक लगानी सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय स्तरमा पार्टीले गुणस्तरीय, वैज्ञानिक, व्यवहारिक र रोजगारमुखी शिक्षा प्रणाली लागू गर्ने, कृषि तथा पशुपालनमा अनुदान वृद्धि गर्ने र औद्योगिकीकरणमार्फत रोजगारी सिर्जना गर्ने नीति अघि सारेको छ । विदेशी ऋण न्यूनतम मात्रामा मात्र लिने र राष्ट्रिय गौरवका परियोजनामा पारदर्शितासहित प्रयोग गर्ने प्रतिबद्धता जनाइएको छ । अमेरिकाबाट प्राप्त एमसीसी अनुदानप्रति पुनरावलोकन आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको छ । संविधान संशोधन गरी प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था तथा समानुपातिक प्रणाली कायम गर्नुपर्ने प्रस्ताव पार्टीले अघि सारेको छ । गोर्खा सैनिक भर्तीसम्बन्धी सन्धिहरूको समीक्षा गर्दै मित्र राष्ट्र भारतसँग कूटनीतिक माध्यमबाट विषय उठान गरिने उल्लेख गरिएको छ । सामाजिक सुरक्षा भत्ता ६५ वर्षदेखि लागू गर्नुपर्ने, गाँजा खेतीलाई वैधानिकता दिए अर्थतन्त्र सुदृढ हुने दाबी गरिएको छ । अव्यवस्थित हाइटेन्सन लाइन व्यवस्थापन तथा भूपू सैनिक, प्रहरी र निजामती कर्मचारीलाई सम्मानजनक नीति अवलम्बन गरिने प्रतिबद्धता पनि समेटिएको छ । प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाममा प्रदेश १ भित्र उपयुक्त स्थानमा स्वास्थ्य प्रज्ञा प्रतिष्ठान स्थापना गर्न पहल गरिने उल्लेख छ । रा.सा.पा. ले कथित ‘कोशी’ नाम खारेज गरी पहिचानको आधारमा प्रदेश १ को पुनःनामाकरण गर्नुपर्ने आफ्नो अन्तिम लक्ष्य रहेको स्पष्ट पारेको छ । उम्मेदवार राईलेले जनताको पहिचान, अधिकार र समृद्धिका लागिे संघर्ष निरन्तर रहने जनाउनुभएको छ ।
