निर्वाचन आयोग आचारसंहितामा कडाइ गर्दै : उम्मेदवारहरूले अब उप्रान्त निर्वाचन चिन्हको भौतिक स्वरूप बोक्न नपाउने

धरान । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोग नेपालले आचारसंहितामा उम्मेदवारहरूलाई कडाइ गर्दै लगेको छ । निर्वाचन आयोग नेपालले फागुन ११ गते एक विज्ञप्ति प्रकाशित गरी उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्दा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग गर्न नपाउने भएका छन् ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सहभागी कतिपय राजनीतिक दल वा उम्मेदवारहरूले निर्वाचन चिन्ह प्रचारप्रसार गर्दा भौतिक स्वरूपको निर्वाचन चिन्ह साथमै बोकी प्रयोग गर्ने र जनसमुदायको समग्र शान्तिमा प्रतिकूल असर पारेको भन्ने सूचना, गुनासाहरू प्राप्त भएका छन् । राजनीतिक दल वा उम्मेदवारहरूले कपडा, टुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्ड बमोजिम आफ्नो निर्वाचन चिन्हको प्रचारप्रसार गर्न सक्ने तर सोको सट्टामा कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिन्ह लिई निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढेको भन्ने उजुरी तथा गुनासाहरू समेत निर्वाचन आयोगमा प्राप्त भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ (१) मा निर्वाचनका लागि दल र उम्मेदवारहरूलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गर्ने व्यवस्था रहेको छ ।


प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को दफा ३४ को उपदफा (१) मा निर्वाचनका लागि दललाई प्रदान गरिने निर्वाचन चिन्ह अनुसूची ३० बमोजिम र स्वतन्त्र उम्मेदवारहरूलाई प्रदान गरिने निर्वाचन चिन्ह अनुसूची ३१ बमोजिम हुनेछ भन्ने व्यवस्था गरेको छ । उल्लेखित ऐन र निर्देशिकाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग लिने उम्मेदवारलाई प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०८२ को अनुसूची ३० र ३१ मा उल्लेखित निर्वाचन चिन्ह प्रदान गर्ने र सो बमोजिम निर्वाचन चिन्ह पाएका दल वा उम्मेदवारले प्रयोग गर्ने दलको झण्डा र चुनाव चिन्हको मापदण्ड निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड (ङ) मा व्यवस्था गरेको छ । विज्ञप्तिमा भनिएको छ, उल्लेखित सन्दर्भमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरूपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिन्ह प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १३ को खण्ड (ङ) मा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ ।
घण्टी हल्लाएर प्रचार गर्न नपाइने


निर्वाचन आयोगले प्रचारप्रसार गर्दा निर्वाचन चिन्हको भौतिक प्रयोग नगर्न निर्देशन दिएपछि रास्वपाका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।
चुनाव प्रचार तथा प्रसारका क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले चर्को स्वरूपमा ठाउँ–ठाउँमा घण्टी बजाएर आम सर्वसाधारणमा ध्वनि प्रदूषण गर्दै आएका थिए । चौतर्फी रूपमा रास्वपाका वरिष्ठ भनिएका नेता बालेन्द्र साह (बालेन) ले भाषण गर्ने, आफ्ना अभिमत राख्ने, जनताका गुनासा सुन्ने, उम्मेदवारहरूका बीचमा डिबेट गर्नेभन्दा पनि सवारी साधनमा बसेर चर्को स्वरले एकोहोरो घण्टी बजाउँदै मात्र हिँड्ने गरेका थिए । साह मात्र नभएर अन्य उम्मेदवारहरूले समेत चर्को स्वरूपमा केवल घण्टी बजाउने गरेपछि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै हजारौँ सर्वसाधारणले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए । यतिमात्र नभएर सामाजिक सञ्जालमा समेत बिहान बेलुका मठ–मन्दिर, धार्मिक स्थलहरूमा मात्र श्रद्धापूर्वक बजाइने घण्टी जहाँसुकै जुनसुकै समयमा चर्को ध्वनिका साथ बजाइएको भन्दै विरोध हुँदै आएको थियो । नागरिकको चौतर्फी आलोचना, उजुरी पश्चात् निर्वाचन आयोगले अन्ततः त्यस प्रकारको विज्ञप्ति प्रकाशित गरेको हो ।
शान्ति सुरक्षाको अवस्था दयनीय
प्रतिनिधिसभा निर्वाचन हुन मात्र सात दिन बाँकी रहँदा देशका विभिन्न स्थानमा आगजनी, झडप र कफ्र्युका घटनाले निर्वाचन शान्तिपूर्ण ढंगले हुने कुरामा चौतर्फी आशंका उब्जिएको छ । सोमबार मात्र वीरगञ्जको नेपाल–भारत सीमा नजिकै साम्प्रदायिक दंगा भड्किएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ९ः४५ देखि अर्को सूचना नआएसम्मका लागि भन्दै कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कफ्र्यु आदेशमा वाइपास रोड, सिर्सिया नदी, गणेशचौक र शंकराचार्य गेटलाई चार किल्ला तोकेर कफ्र्यु लगाएको हो । प्रशासनले यस क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख गरे पनि स्थानीयहरूले कफ्र्युकै उल्लंघन गरेपछि हाल सो क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरिएको हाम्रा प्रतिनिधिले जनाएका छन् । पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले दिएको जानकारी अनुसार स्थिति तनावपूर्ण रहेको छ । सयौँ सुरक्षाकर्मीहरू परिचालित भएका छन् । उता रौतहटको अवस्था समेत सामान्य भइसकेको छैन । कफ्र्यु आदेशलाई उल्लंघन गर्दै स्थानीयहरूले सडकमा टायर बाल्ने, यातायातका साधन ठप्प बनाउन, उद्योग–धन्दा, बजार–पसल सबै बन्द रहेको अवस्था छ । निर्वाचनको पूर्वसन्ध्यामा
सरकारले अभियन्ता दुर्गा प्रसाईंलाई बिना कसुर गिरफ्तार गरेपछि तराईका विभिन्न स्थानको जनजीवन प्रतिकूल बनेको छ । लहान, राजविराज, सिराहा, जनकपुर, बर्दीबास, जलेश्वर, हेटौंडा, पथलैया, कलैया लगायतका स्थानहरू अशान्त रहेका छन् । दैनिक हजारौँ सर्वसाधारणले प्रसाईंको रिहाइको माग गर्दै जुलुस, नारा गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा निर्वाचन किन र कसका लागि भन्ने प्रश्न उब्जिएका छन् । विगतका निर्वाचनहरूमा मतदाताहरू स्वस्फूर्त रूपमा निर्वाचनप्रति उत्साही हुन्थे । यसपटक त्यस्तो अवस्था देखिएको छैन । शान्ति सुरक्षाको अभावमा अझ पनि निर्वाचन हुने कुरामा आशंका पैदा भएको छ ।

तपाईको प्रतिक्रिया