दलहरुले सुकुम्बासीलाई भोट बैंक बनाए, मतदाता उत्साही छैनन्

धरान । धरान(६ को सेउती खोला छेउमा रहेको सुकुम्बासी बस्तीका बासिन्दा नेताको प्रतीक्षामा थाकिसकेका छन् । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ स्थित सेउती खोलाको किनारमा वर्षौंदेखि कष्टकर जीवन बिताइरहेका सुकुम्बासीहरूका लागि निर्वाचन कुनै उत्सव होइन, बरु पटक पटकको आश्वासनको पोको बोकेर आउने गरेका उमेद्वारहरुबाट उनीहरु निराश बनेका छन् । यही फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुदैछ । विगतका निर्वाचनबाट आश्वासनमात्र पाएका जनताहरु निर्वाचन आएपनि निर्वाचनको उत्कुकता भने देखिदैन । साविक पाँचकन्या गाविस अन्तर्गत र हाल धरान(६ को पानबारी क्षेत्रका सुकुम्बासी बस्तीमा यतिबेला नेताहरूको आवतजावत बढेको छ । तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा यहाँका मतदाता आक्रोशित देखिएका छन् । कतिपयले यसपटक मत नै नहाल्ने मनस्थितिमा पुगेका छन् । शेरा सूचना संगम बस्तीकी इरा परियारले भोट माग्दा आकाशका तारा झारिदिने आश्वासन दिने तर जितेपछि अनुहारसमेत नदेखाउने प्रवृत्तिबाट आफूहरू पटक(पटक झुक्किएको बताउनुभयो । आफूहरुको माग जितेर गएकाहरुबाट धेरै ठूलो नभएको तर बर्षादको समयमा शेराखोलाबाट पु¥याउने क्षतिको दीर्घकालीन समस्या समाधान मात्र रहेको बताउनुभयो ।

यो गुनासो इराको मात्र होइन, सेउती खोलाको बगरमा भविष्य खोजिरहेका सयौं परिवारको साझा पीडा हो । घोपाली टोलकी जानुकादेवी मगरले विगतमा पटक(पटक नेताहरूलाई जिताएर पठाए पनि निर्वाचनपछि बस्तीमा पाइला नटेक्ने गरेको बताउँदै यसपटक मत नहाल्ने पक्षमा रहेको धारणा राख्नुभयो ।
स्थानीयका अनुसार निर्वाचनका बेला प्रतिबद्धता र निर्वाचनपछिको व्यवहारमा आकाश–जमिनको फरक देखिन्छ । इन्द्रकला तामाङले निर्वाचित जनप्रतिनिधिले कम्तीमा सर्वसाधारणका आधारभूत समस्या समाधान गरिदिए पुग्ने बताउनुभयो । खानेपानी, बिजुली र सुरक्षित आवासको अभावमा बाँचिरहेका यहाँका बासिन्दाले आफूहरूलाई राज्यले नागरिकको दर्जासमेत नदिएको महसुस गरेका छन् । निर्मला शाक्यले चुनाव नेताका लागि अवसर र गरिबका लागि धोका मात्र भएको टिप्पणी गर्दै जितेपछि गाउँ नै नफर्किने प्रवृत्तिको गुनासो पोख्नुभयो । टेकबहादुर मंगान्तीले निर्वाचित प्रतिनिधिले गरिब दुःखीका लागि केही नगरेको बताउँदै रोजगारीको अवसर नहुँदा परिवार पाल्न धौधौ भएको उल्लेख गर्नुभयो । उहाँले गरिबलाई निर्धक्क काम गरेर गरिखान पाउने अवसर दिएमात्र आफूहरुलाई पुग्र्ने बताउनुभयो । सेउती र शेर्रा खोलाको कटान र वर्षायामको डुबान यहाँको अर्को ठूलो समस्या हो । हरेक चुनावमा तटबन्धको आश्वासन दोहोरिए पनि कार्यान्वयन नहुँदा बस्तीवासी निराश छन् । स्थानीयका अनुसार राजनीतिक दलहरूले सुकुम्बासी बस्तीलाई ‘भोट बैंक’ का रूपमा मात्र प्रयोग गर्दै आएका छन् । धरान–६ को यो परिवेशले जनतामा बढ्दो असन्तुष्टि र सचेतना दुवै देखाएको छ । फागुन २१ को निर्वाचनअघि व्यक्त भइरहेको यो मौन विद्रोहले राजनीतिक दलहरूप्रतिको अविश्वासको संकेत देखिएको छ । अब दलहरुले आश्वासन बाँड्न छोडेर काम गर्नुपर्ने समय आएको छ । काम गर्छु भनेर निर्वाचनमा होमिएका नेताहरुप्रतिको अविश्वास चुलिदै गएको सर्वसाधारणको भनाईले स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया